काठमाडौं, १४ माघ
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आज कांग्रेस बैठक बोलाएका छन् । बैठक भर्चुअल माध्यमबाट बस्नेछ ।
राष्ट्रिय सभाको निर्वाचनको समीक्षा र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न देउवाले कांग्रेस केन्द्रीय समिति बैठक बोलाएका हुन् । बैठकले स्थानीय तहको निर्वाचनबारे ठोस निर्णय लिने भएको छ ।
कांग्रेस बैठक बस्नुअघि नै प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष तीन नेताबीच छलफल भएको हो।
राष्ट्रिय सभाको निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे तीन नेताबीच छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री देउवाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटबारे प्रचण्ड र नेपाललाई जानकारी गराएका थिए । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई समयमै निर्वाचन गर्न सल्लाह दिएकी थिइन् । प्रधानमन्त्रीले गठबन्धनका नेताहरूसँग यसबारे छलफल गर्ने जानकारी गराएका थिए ।
सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर संविधानअनुसार बनाउने बताइरहेका छन्। उक्त ऐनमा कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ। तर संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गरे हुने उल्लेख रहेको भन्दै गठबन्धनले ऐनलाई संविधानअनुसार बनाउने तयारी गरिरहेका छन्। एमालेसहित कांग्रेसमै पनि स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने आवाज प्रबल बन्दै गएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |