नेपालको प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी भगवती माईको न्वागी मेला सम्पन्न भएको छ।
नेपालको प्रसिद्ध शक्तिपिठ त्रिपुरासुन्दरी भगवती माईको आइतबार साँझदेखि रातभर पुजा पाठ गरेर सोमबार बिहानै देवीको प्रतीकलाई गाउँको मन्दिर सल्यानकोटबाट बेशीको मन्दिर आगिन्चोकको सल्यानबेसीमा झरिएको छ । प्राय देवीदेवताको दर्शन गर्न मन्दिर नै पुग्नुपर्ने भए पनि यो जात्रामा भक्तजनहरुले बाटोमै बसेर त्रिपुरासुन्दरी भगवतीको दर्शन गर्न पाउँछन् । सल्यानकोटको घरमा रहेकी त्रिपुरासुन्दरी बेँसीमा रहेको मन्दिर माइतीघरमा न्वागी खान आउने पर्वको अवसरमा भव्य मेला लाग्दै आएको छ ।
मेलाको अबसरमा इन्द्रेणी टिमको बेजोड सास्कृतिक कार्यक्रम समेत भएको थियो । मेला अबलोकनको लागी माओवादी केन्द्रका नेता तथा नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा ,वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेल लगाएतको माओबादी नेताहरुको उपस्थिति थियो ।
मङ्सिर महिनाको विशेष तिथिमा त्रिपुरासुन्दरी भगवतीलाई गाउँको मन्दिर त्रिपुरासुन्दरी गाउँपालिका वडा नं –४, सल्यानकोटबाट बेँसीको मन्दिर त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ सल्यानबेँसीमा सार्ने गरिन्छ । मुख्य पुजारीद्वारा खाली खुट्टा त्रिपुरासुन्दरी भगवतीलाई पिठ्युँमा बोकेर झण्डै तीन घण्टाको ओह्रालो तथा अप्ठेरो बाटो हुँदै बेँसीको मन्दिर ल्याइएको हो । यो त्रिपुरासुन्दरी भगवतीको माइतीघर हो । न्वागी खान आएकी त्रिपुरासुन्दरी भगवती फागुन महिनासम्म माइतीघरमा बस्ने गर्छिन् ।
फागुन महिनामा साइत हेरेर पुनः त्रिपुरासुन्दरीलाई माथि आफ्नै घर लाने गरिन्छ । भगवतीको प्रतीकलाई बेँसी झार्दा भक्तजन र पुजारीहरुबाट खुँडा, खुकुरी सहित पञ्चेबाजामा नाच देखाउँदै दियो, कलश, बोकेर शङ्ख, घण्ट बजाउँदै र भगवतीको जयजयकार गाउँदै अबिर जात्रा गर्ने गरिन्छ । त्रिपुरासुन्दरी भगवतीलाई बाटोमा बसेर पूजा गर्ने तर त्रिपुरासुन्दरी माईको मूर्ति हेर्न नहुने र मुख्य पुजारीबाहेक कसैले पनि छुन नहुने परम्परा छ ।
त्रिपुरासुन्दरी भगवतीलाई एक वर्षभित्र विभिन्न तीन वटा मन्दिरमा लगेर राख्ने र त्यहीँ पूजाआजा गर्ने अनौठो र रोचक परम्परा छ । सोही परम्पराअनुसार सल्यानकोटमा रहेको दुई वटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वतिरको मन्दिरमा राखेर पूजाआजा गरिन्छ ।पूर्वतिरको मन्दिर मामाघरको रूपमा प्रसिद्ध छ । पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा आठ महिनाभन्दा बढी समय भगवतीलाई त्यहीँ पूजाआजा गरिन्छ । उक्त मन्दिर त्रिपुरासुन्दरीको घर भएको बताइन्छ ।
पृथ्वीनारायण शाहले त्रिपुरासन्दरी माईको आशीर्वाद पाएर काठमाडौँ युद्ध गर्न जाँदा विजय भएको किंवदन्तीका आधारमा मेला लाग्दै आएको बताइएको छ ।जिल्ला सदरमुकाम धादिङबेसीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्लाहरुबाट समेत मानिसहरु पनि आउने गर्दछन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |