धादिङ, २४ चैत्र ।
अस्मिता पोखरेल ।
उत्तरी धादिङलाई जोड्ने दामन पाख्रिन मार्गको धादिङबेसी–सांकोष खण्डको स्तरउन्नती तथा कालोपत्रे कार्य सुरु भएको छ । चार दशक अगाडि सुरु भएको मार्गको उक्त खण्डमा १६ किलोमिटर क्षेत्रमा स्तरउन्नती तथा कालोपत्रे सुरु भएको हो ।
धुलोले हैरान भएका, असहज यात्राका कारण सास्ती खेपिरहेका नागरिक अहिले सडकमा भइरहेको प्रगति देखेर खुसी भएका छन् । स्थानीय बासिन्दा कर्णकुमारी योगीले भन्नुभयो, “धुलोले खाना खानै गाह्रो हुन्थ्यो, स्वास्थ्यमा असर गथ्र्यो । अब यो समस्या अन्त्य हुने आशा छ ।”
सडक निर्माणसँगै अब धादिङबेसी पुग्न सजिलो हुने भएकाले सवारी चालकहरु पनि उत्साहित छन् । सवारी चालक किरण थापा मगरका अनुसार, कालोपत्रे कार्यले यात्रा सहज मात्र नभई सुरक्षित पनि बनाउनेछ ।
भौतिक पूर्वाधार मन्त्रालयको ३६ करोड रुपैयाँको लागतमा धादिङबेसीदेखि नेत्रावती डबजोङ गाउँपालिकाको केरुन्जासम्म १६ किलोमिटर सडक स्तरउन्नती गर्दै कालोपत्रे गर्ने सम्झौता भएको थियो । तर, विभिन्न कारणले यो आयोजना पटक–पटक म्याद थपेर मात्र काम अगाडि बढ्न सक्यो । अहिले भने कामले नयाँ गति लिएको छ ।
निर्माण कार्यमा संलग्न वरिष्ठ इन्जिनियर सागर कुमार झाका अनुसार, सडक कालोपत्रेको काम तीव्र गतिमा अघि बढिरहेको छ । उहाँले भन्नुभयो, “समय लागे पनि सडकले स्थानीयको दैनिकी सहज बनाउनेछ ।”
धेरै पटक म्याद थपिएको अनुभव गरेका स्थानीय बासिन्दाहरु भने अझै पनि आशंकित देखिन्छन् । नीलकण्ठ नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष धर्मराज भण्डारीले भन्नुभयो, “काम अघि बढेको देख्दा खुसी लागेको छ । तर, पुनः म्याद थप्नु परेमा यसको पूर्णता कहिले हुन्छ भन्ने अझै निश्चित छैन ।”
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |