धादिङ, २५ फागुन ।
होली पर्व २०८० को अवसरमा जिल्ला प्रहरी कार्यालय धादिङले सम्पूर्ण नागरिकलाई शुभकामना व्यक्त गर्दै यो पर्वलाई सभ्य, मर्यादित, तथा सुरक्षित रूपमा मनाउन आग्रह गरेको छ। प्रहरीले होलीको नाममा कुनै पनि प्रकारका उच्छृंखल तथा अवाञ्छित गतिविधि नगर्न विशेष अनुरोध गरेको छ।
प्रहरी कार्यालयले होली पर्वलाई सौहार्दपूर्ण र मर्यादित रूपमा मनाउन सबै नागरिकलाई सचेत रहन आग्रह गरेको छ। विशेषगरी, आफन्त तथा नजिकका साथीहरूसँग मात्र होली खेल्नुपर्नेसम्बन्धी सन्देश दिँदै अपरिचितहरूसँग होली नखेल्न अनुरोध गरिएको छ।
जबरजस्ती रंग लगाउने, लोला हान्ने वा होलीको नाममा दुव्र्यवहार गर्ने कार्य नगर्न सचेत गराइएको छ । प्रहरी कार्यालयले छाला तथा आँखामा हानि पुर्याउन सक्ने केमिकलयुक्त रंग, मोविल, मोसो वा फोहोर पानीको प्रयोग नगर्न पनि अनुरोध गरेको छ।
होली खेल्ने स्थानमा बहुमूल्य गरगहना तथा महँगा सामग्रीहरू नलगिनु पर्ने सन्देश दिँदै प्रहरी कार्यालयले अपरिचित व्यक्तिहरूबाट दिइएका खानेकुरा नलिन सचेत गराएको छ।
ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्न र मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी साधन नचलाउन आग्रह गर्दै प्रहरी कार्यालयले स्वयम् सुरक्षित रहनुका साथै अरूलाई पनि सुरक्षित राख्न अनुरोध गरेको छ।
यस्तै, बालबालिका, महिला, जेष्ठ नागरिक तथा पर्यटकहरूमाथि कुनै पनि प्रकारको दुव्र्यवहार नगर्न विशेष आग्रह गरिएको छ। भिडभाड हुने स्थानहरूमा पकेटमारी, लुटपाट तथा अन्य आपराधिक गतिविधिहरू हुन सक्ने सम्भावना बढ्ने भएकाले अतिरिक्त सतर्कता अपनाउनुपर्ने प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयले नियम विपरीत कार्य गर्ने, सार्वजनिक शान्ति भंग गर्ने वा उच्छृंखल गतिविधिमा संलग्न जोसुकैलाई कानुनी कारबाही गरिने चेतावनी दिएको छ। साथै, कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भइसकेको थाहा पाएमा तुरुन्तै नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
यसैगरी, प्रहरी कार्यालयले सम्पर्कका लागि विभिन्न हेल्पलाइन नम्बरहरू सार्वजनिक गरेको छ। प्रहरी कन्ट्रोल नम्बर १००, सञ्चार शाखाको सम्पर्क नम्बर ०१०–५२०१९९ र ९८५१२८३४८० तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको हेल्पलाइन नम्बर १०४ र ९८५१२८३४७७ उपलब्ध रहेको जानकारी दिइएको छ। साथै, जिल्ला प्रहरी कार्यालय धादिङको आधिकारिक फेसबुक पेजमार्फत पनि आवश्यक जानकारी प्राप्त गर्न सकिने बताइएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङले सम्पूर्ण नागरिकलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण वातावरणमा होली पर्व मनाउन पुनः अनुरोध गरेको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |