धादिङ, २२ फागुन ।
बेनीघाट रोराङ गाउँपालिकाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२५ को पूर्व सन्ध्यामा पालिकासँग महिलाका कुरा विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । महिला दिदिबहिनीका गुनासो र सफलताका कथा सुन्ने, समस्या पहिचान गर्ने र समाधान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा महिला श्रमिकहरूको हक, अधिकार, अवसर र स्थानीय तहसँगको सम्बन्धबारे छलफल गरिएको छ । महिला दिदिबहिनीले आफुले भोगेका भोगाई, चढ्दै गरेका सफलताका सिँढीका कुरा र पालिकाले पुर्याएको योगदानको चर्चा गरेका छन् ।
महिला दिदिबहिनीहरूले उनीहरू समाजमा महत्त्वपूर्ण स्थान नपाउने, घरको चारदीवारीमा सीमित रहनुपर्ने, र सार्वजनिक जीवनमा कमजोर मानिने । तर अब समय परिवर्तन भएको छ र महिलाहरू अब समाज परिवर्तनका संवाहक बनेको उल्लेख गरेका छन् ।
कार्यक्रममा एक विद्यार्थी छात्राले आफ्नो जीवनका कठिन पलहरू साझा गर्दै भनिन्, “मैले बोल्न पाएको छु, मेरो आवाजलाई अब सुन्न सकिन्छ। यो परिवर्तन हो।“ उनले आफ्नो आमाको पिडाको कथा सुनाउँदै भनिन् कि, यस्ता भोगाइहरूले देशमा परिवर्तन ल्याएको छ।
कार्यक्रमका प्रमुख अतिथि, बागमती प्रदेश सभाका पूर्व सांसद कञ्चन खनालले महिलाहरूका संघर्ष र योगदानका बारेमा चर्चा गर्नुभयो । उहाँले महिलाहरूका विद्रोह र बलिदानलाई महत्व दिँदै भन्नुभयो, “महिला दिदिबहिनीहरूको योगदान बिना समाजमा परिवर्तन असम्भव थियो।“ उहाँले अझै महिलाका लागि नेतृत्व र निर्णय गर्ने स्थानमा सुधारको आवश्यकता रहेको औंल्याउनु भयो ।
बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले महिलाका हकमा पालिकाले विशेष योजना बनाएको र महिलाका लागि ठूलो रकम विनियोजन गरेको बताउनुभयो । उहाँले पालिकाको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर बनाउने र समाजमा स्थापित गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्न रहेको स्पष्ट पार्नुभयो ।
उपाध्यक्ष टापबहादुर श्रेष्ठले भन्नुभयो, “राजनीतिमा महिलालाई अघि सार्नुपर्ने बेला आएको छ।“ उहाँले आगामी निर्वाचनमा महिलालाई बढी अवसर दिने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरेले महिलाको सफलतामा परिवारको ठूलो भूमिका भएको भन्दै आफ्नो जीवनका सहायकहरूलाई सम्मान अर्पण गर्नुभयो । उहाँले भन्नुभयो, “महिला भएर जन्मिनुमा गर्व छ, र यो सफलतामा साथ दिने सबैलाई सम्मान छ।“
कार्यक्रमका सहभागीहरूले महिलाका हक, अधिकार र सामाजिक चित्रणको सम्बन्धमा साहित्यिक रचनाहरू प्रस्तुत गरे। यस कार्यक्रममा महिलाका मुद्दाहरूलाई प्राथमिकतामा राखेर विभिन्न विचार विमर्श र सुझावहरू प्रस्तुत गरिएका थिए।
बेनीघाट रोराङ गाउँपालिकाको “पालिकासँग महिलाका कुरा“ कार्यक्रमले महिला सशक्तिकरणका लागि महत्वपूर्ण कदम अघि बढाएको छ र समाजमा महिलाको योगदानलाई महत्व दिएका छन्।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |