धादिङ, २४ माघ ।
धादिङसहित देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियान जारी छ। पाठेघरको मुखको क्यान्सरका कारण बढ्दो मृत्यु दरलाई न्युनिकरण गर्ने तथा अकाल मृत्युको जोखिमबाट बचाउने उद्देश्यसहित सरकारले माघ २२ गतेदेखि राष्ट्रव्यापी खोप अभियान सञ्चालन गरिरहेको छ।
यस अभियान अन्तर्गत धादिङमा हालसम्म ६ हजारभन्दा बढी किशोरीहरूले खोप लगाइसकेका छन्। हालसम्म नीलकण्ठमा २ हजार २९२, सिद्धलेकमा ८९०, त्रिपुरासुन्दरीमा ७७७, ज्वालामुखीमा ७२९, गंगाजमुनामा ५४१, खनियाबासमा ४५४, रुवीभ्यालीमा ३६०, र नेत्रावती डवजोङमा ३३५ गरी जम्मा ६,३७८ जनाले खोप लगाइसकेको जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा खोप अभियान दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा माघ २२ गतेदेखि नीलकण्ठ नगरपालिका, रुवीभ्याली, खनियावास, नेत्रावती डवजोङ, गंगाजमुना, त्रिपुरासुन्दरी, ज्वालामुखी, र सिद्धलेक गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ। पहिलो चरणको अभियान माघ २६ गतेसम्म हुनेछ ।
दोस्रो चरणअन्तर्गत फागुन १ गतेदेखि ५ गतेसम्म धुनिवेशी नगरपालिका, थाक्रे, गल्छी, गजुरी, र बेनिघाट रोराङ गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने छ।
धादिङमा कुल १४,५७३ किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ। जनस्वास्थ्य कार्यालय धादिङका खोप सुपरभाइजर श्याम पोखरेलका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा, साथै विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीहरूलाई खोप प्रदान गरिने छ।
जिल्लाभर २ सय ४० विद्यालय खोप केन्द्र तथा ९६ स्वास्थ्य संस्थाका खोप केन्द्रसहित ३३६ खोप केन्द्र सञ्चालन गरिनेछ। साथै, खोप अभियानमा ३३६ जना स्वास्थ्यकर्मी तथा ६७२ स्वयंसेविकाहरू परिचालन गरिने जनाइएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |