–अधिवक्ता कृष्णराज अधिकारी
सानै उमेर देखि मलाई इन्जिनियर बन्ने शोख थियो । साँझ बिहान भयो कि घर पछाडी बारीको कान्लामा कुटो द्धारा बाटो बनाउँथे । दाउराको छेस्को मेरो डोजर थियो । ठाउँठाउँमा कान्ला खोतली खोल्सा खोला बनाउँथे र मकैको ढोडको छेस्काबाट धुले पुल बनाउँथे । सलाईको बट्टालाई गाडी बनाएर साँझ बिहान घोक्रो फुलाई फुलाई गाडीको आवाज निकाल्दै एक्लै खेल्दथे । मलाई एक्लै खेल्नमै आनन्द आउँथ्यो ।कहिले काहीँ केराको थम्बाबाट रेडियो पनि बनाउथे ।त्यसकै भिर्ने तना पनि हुन्थ्यो । म त्यही थम्बाको रेडियो भिर्दै बाटोको गल्लीमा कहिले समाचार भन्दै कहिले गीत गाउँदै कराउँदै हिड्ने गर्दथे । यसो गर्दा मलाई ज्यादै आनन्द आउँथ्यो ।गाउँको विद्यालयबाट एस एलसी उत्तीर्ण भएपछि म मा विज्ञान पढ्ने भूत जाग्यो । त्यतिखेर गणितमा म अब्बल नै भएपनि अंग्रेजी कमजोर थियो ।एसएलसी परिक्षाको पहिलो दिन अंग्रेजी थियो । परिक्षा हलभित्र बस्ने निरिक्षकहरुले पनि गतिलो निर्देशन नदिएर होला कभर पेजको भित्रि साइडमा मैले ग्रामर लेखेछु ।कभर पेज कपी परीक्षण गर्दा च्यातिन्छ भन्ने थाहा थिएन । झण्डै २५ नं. को ग्रामर त त्यही पेजमै परेछ । झन्डै फेल भएको । धन्न ३२ नं.आएर म पास भएछु । विज्ञान पढ्न अंग्रेजी, गणीत र विज्ञान को स्कोर जोडिने रहेछ । मेरो स्कोर नै पुगेन । अनि जबरजस्ती पढ्न खोज्यो क्याम्पसका सरहरु बाबु तिमी विज्ञान पढ्न सक्दैनौ । त्यहाँ त सबै कुरा अंग्रेजीमै लेख्नु पढ्नुपर्छ भनेर डराइ दिनुहुन्थ्यो।
तत्कालिन समयमा महेन्द्र रत्न क्याम्पसको स्टोरकिपर मेरो नातेदार हुनुहुन्थ्यो । उहाँले मलाई बाबु शिक्षा विषय लिएर पढ, म तिमीलाई निशुल्क पढ्ने व्यवस्था गरी दिन्छु भन्नुहुन्थ्यो । तर मलाई शिक्षक बन्न रहरै थिएन ।जिल्लाले खुलाएको २०४२ सालको प्राथमिक शिक्षक छनोट सेवा आयोगमा मैले आवेदन नै लगाइन ।अब विज्ञान पढेर इन्जिनियर बन्ने सपना पनि करिब करिब टुङ्गिएको थियो ।आफूले सोचे अनुसारको विषय पढ्न नपाउँदा नैराश्यता आउनु कुनै अनौठो थिएन ।पब्लिक युथमा कमर्स पढ्न पर्छ कि भनि प्रवेश परीक्षाको फाराम भरे तर नाम निस्किएन ।म घुम्दै घुम्दै नेपाल ल क्याम्पसमा कानून पढ्न पुगें ।यो मेरो कुनै शोखको विषय नै थिएन ।मन नलागि नलागि क्याम्पस जान थाले ।
प्रदर्शनी मार्गमा विश्व भाषा क्याम्पस र आर आर क्याम्पसको बीचको नेपाल ल क्याम्पस थियो ।कक्षा कोठामा कहीलेकाहिं आर आर कलेजका विद्यार्थीहरु पनि पढ्न बस्दथे ।चुल्ठा मुद्रा लगाएका विद्यार्थीहरु । शिक्षकले पढाई रहदा विद्यार्थीहरु कक्षाकोठा भित्र ओहोर दोहोर गरी रहन्थे । अनुशासनको पालना फिरिकै थिएन।
स्वतन्त्र विद्यार्थी यूनियन क्याम्पस प्रशासन भन्दा शक्तिशाली थियो ।एकदिन त कक्षा कोठा भित्रै तरबार हानाहान भयो।आर आर को विद्यार्थीले ल क्याम्पसका केटाहरुलाई तरबारले हानेको रे ।म जस्तो गाउँले लुते केटाको सातो जानु स्वभाविक थियो ।म लुगलुग काम्दै झोला भिरेर डेरातिर भागें ।भोलीपल्टबाट क्याम्पस पढ्न नजाउँ नजाउँ लाग्न थाल्यो । काठामै बसेर पढ्न थालें ।गाउँको एक निमावि विद्यालयमा प्राथमिक शिक्षकको विज्ञापन भएको रहेछ । घरबाट मलाई मास्टरको जागिरमा जाँच दिन बोलाहट भयो । मर घर फकिए र अस्थायी शिक्षक छनोटको परिक्षामा भाग लिएँ । मेरो नाम निस्कियो ।विद्यालयले मलाई अस्थायी प्राथमिक शिक्षक पदको नियुक्ति दियो । अब म याङ्साब बन्न पुगें । महिनाको तलब चार सय बैसठ्ठी रुपैयाँ थियो । तलब बुझेको दिन ठूलै रकम बुझिएको जस्तो लाग्थ्यो।
विद्यालयमा पढाउँदै गर्दा प्रावि को शिक्षक आयोग खुल्यो । फाराम भरी जाँच दिएकोमा मेरो नाम निस्कियो ।अब म प्रावि स्थायी शिक्षक बने ।विद्यालयमा प्रअको विवाद भइ रहन्थ्यो ।त्यतिखेर मैले कानूनमा प्रविणता पत्र उत्तीर्ण गरी सकेको थिएँ ।एक समूहले मलाई हेडमास्टर बनाउन लबिङ गर्दो रहेछ ।अर्को थरी मलाई स्कूलबाट नै सरुवा गर्नु पर्छ भन्ने ।बाहिर बाहिर राजनीतिक खिचातानीपछि बुझ्दा मलाई नेपाली काँग्रेसको बिल्ला लगाएका रहेछन् ।त्यसपछि मात्र मलाई आफ्नो राजनीतिक पहिचान थाहा भयो । एकजना सरले कानून पढेको मान्छे मास्टर बन्ने हो ?मास्टर बन्न त शिक्षा पढ्नुपर्छ भन्नु भयो । मलाई यो भनाईले मनमा चसक्क छोयो । अनि मैले शिक्षा पढ्ने प्रण गरें । घरमै बसेर बिए पास गरें । माध्यमिक तहको शिक्षक सेवा आयोगमा मेरो नाम निस्कियो । अब भने म पक्का मास्टर भएँ । तै पनि कता कता यो पेशा मलाई त्यति मन परेको भने हैन । म अनायस नै गाउँको चर्चित मास्टर बन्न पुगें ।२०५२ सालतिर मैले शिक्षामा ब्याचलर र मानविकिमा मास्टर्स एकै पटक उत्तीर्ण गर्न सफल भएँ । ीनजामति सेवा तर्फ विद्यालय निरिक्षकको विज्ञापन हुँदा मैले फाराम नै भरिन । त्यतिखेर मेरो स्थायी सेवा दश वर्ष बढी भै सकेको थियो । बीस वर्षमा पेन्सन गर्ने हो अनि अन्तै लाग्ने हो भन्ने सोचाइले गर्दा लोक सेवा तर्फ धयन दिइन ।
नेपाल सरकारले सार्वजनिक शिक्षामा सुधार गर्न भनि २०४२ साल देखि नै शिक्षामा परियोजना लागू गरेको थियो । धादिङमा २०५७ सालमा आधाभूत प्राथमिक शिक्षा परियोजना दोस्रो चरण लागु भयो । यसै अन्तर्गत रहेर जिल्ला शिक्षा कार्यालय धादिङको स्रोतव्यक्ति –आर पी) पदमा नियुक्ति लिई जिल्ला स्थित विभिन्न स्रोतकेन्द्रहरुमा रहेर शिक्षा सेवामा काम गर्ने अवसर मिल्यो झण्डै सत्र वर्ष भन्दा बढी समय म यही पेशामा आवद्ध रहँदै शिक्षण पेशाको ३० वर्ष २९ दिनको स्थायी सेवा हुने गरी २०५६ वैशाख ५ गते यो पेशाबाट विश्राम लिएको अवस्था छ । त्यसपछि म अधिवक्ताको रुपमा धादिङ जिल्लामा क्रियाशील हुँदै धादिङबार एशोशिएशनमा आवद्ध सबै कानून व्यवसायी साथीहरुको सर्वसम्मत प्रस्तावको बार एशोसिएशनको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुने अवसर प्राप्त भयो ।
शिक्षा क्षेत्रमा रहँदा साना ठूला गरी झण्डै तीन दर्जन भन्दा बढी तालिम फर्म प्राप्त गर्ने अवसर पाएँ । म हुन नसकेको माध्यमिक तह प्रथम श्रेणीको शिक्षक सम्म हुन पुगें । नचाहादा नचाहादै म एक खालको विद्यालय सुपरीवेक्षक व्यवस्थापक एंव शिक्षा विद्को रुपमा स्थापित भएँ । जो अरुले माने पनि नमाने पनि मलाई गर्व छ ।धादिङ बार एशोसिएशनको २ वर्षे कार्यकाल पुरा गर्दै म कानून व्यवसायीको अलवा नेपाल मानव अधिकार संगठन धादिङको सभापति पदमा रही मानव अधिकार क्षेत्र र नागरिक समाजसँग क्रियाशील हुँदै आई रहेको छ ।मेरो पहिचान फेरिएको छ ।मेरो क्षेत्र फेरिएको छ ।जनसम्पर्क फेरिएको छ ।
मेरो आफ्नै विगतलाई फर्कि हेर्दा म आफैं आश्चर्यमा पर्ने गर्दछु । मेरो बाल्यकालको योजना भनेको इन्जिनियर नै बन्ने थियो । तर, त्यो कहिल्यै सफल नहुने गरी बित्यो । सायद पढ्न पाएको भए म सर्वश्रेष्ठ प्राविधिक इन्जिनियर बनेर देशको सेवा गर्थे होला ।तै पनि मैले मेरो इच्छा आफ्नै दुई बाबुहरु मार्फत पुरा गराउँदैछु ।हेरौं मेरो इच्छा चाहाना उनीहरुले कत्तिको पुरा गर्न सक्छन् ? म शिक्षक नै बन्ने भए पहिल्यै शिक्षा शास्त्र अध्ययन संस्थानमा भर्ना भै छात्रवृत्ति सहितको अवसर प्राप्त गर्ने नै थिए ।सायद निजामति सेवाको कम्तिमा उपसचिव तहसम्म त अवश्य नै पुग्थे होला ? कानून विषयलाई निरन्तरता दिई रहेको भए जिल्ला न्यायधीश सम्म त पुग्थे होला जस्तो लाग्छ । शिक्षा पढ्ने बेलामा कानून पढें कानून पढ्नुपर्ने बेलामा शिक्षा पढें।जीन्दगीका सिर्जनशील उमेरमा अनेकौं बशन्तलाई पार गर्दै नदीमा तैरिएको मुढा जस्तै कहिले बगरको वल्लो छेउ कहिले पल्लो छेउ, कहिले बीच भंगालोमा डुब्दै तैरदै जिई रहेको छु ।सोचे झैं जीन्दगी रैनछ ।मेरो जीन्दगी नागबेली जीन्दगी । एक घुम्ती पछी आउने अर्को घुम्तीको जीन्दगी । या भनौ सत्र घुम्तीको जीन्दगी । अनौठो राम कहानी । यसैगरी बिताइ रहेको छु , दुई दिनको जीन्दगी ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |