धादिङ,६ बैशाख ।
–कृष्णराज अधिकारी
हिजो आज म निकै खुशी छु ।भन्नुहोला देशको बारेमा जताततै निरासै निरासा छ।मुलुक आर्थिक मन्दीले आक्रान्त छ । होनाहार डाक्टर इन्जिनियर कलाकार लगायतका यूवाहरु युरोप अमेरिका तिर पलायन हुँदैछन् । लाग्छ कुनै दिन देश भनेको यही ढुंगा माटो, नदीनाला र बनजंगल मात्रमा सिमित हुने छ । अनि यि नेताहरुले कसमाथि चै राजनीति गर्लान् र ? यस्तै विचारहरु तरंगित भइरहेको समयमा ममा खुशी छाउनु अनौठो लाग्न सक्छ ।
खुशी हुनुका विभिन्न कारणहरु हुन सक्लान् । आफूले सोचे अनुसारको कार्य सम्पन्न भयो भने मानिस खुशी हुन्छ।कसैलाई धन दौलत प्राप्त भएको अवस्थामा कोही मोटर बंगला भएर कोही लामो यात्रा गरेर कोही धर्मकर्म गरेर भने कोही आफ्ना सन्तानले डाक्टर इन्जिनियर पढेर र पेशामा लागेको देखेर खुशी हुन्छन् ।म पनि माथि उल्लेखित प्रकारहरु मध्ये एकमा चाहिँ अवश्य परेको छु।तपाईको जस्तो धन दौलत नभएपनि आफूलाई खान लगाउन पुग्ने चै सम्पत्ति पक्कै छ।छोराहरुले राम्रै शिक्षा प्राप्त गरेका छन् ।बाँकी दिनहरु कसरी अगाडी बढाउँछन्।त्यो उनीहरुको खुवीको कुरा हो । मसँग साथमा नभएको भन्नु छोरी थियो । त्यो इच्छा पनि मलाई भगवान्ले पूरा गरि दिएका छन् ।एकै चोटी मेडिकल अफिसर डाक्टर छोरी पाएको छु ।धन्य छ भगवान् अनि मेरी छोरी र उनको परिवारलाई पनि । त्यसैले त म खुसी छु ।मैले छोरीको खुट्टाको पानी खाएको छु,पाउ पूजा गरेको छु अनि मुटु भित्र सजाएर राखि सकेको छु । यो जीवन रहेसम्म हामी बीचको बाबु छोरीको सम्बन्ध टुट्ने छैन।
धेरै दिनपछि छोरीको संझनाले सताउन थाल्यो । छोरीलाई भेट्नको लागि बसेको क्वाटरमै गएँ।छोरी पढाईमै व्यस्थ रहिछिन् ।मैले ढोका ढक्ढक् गरें।ढोकासम्म आएर छोरीले मलाई भित्र लगिन् । हामी बीच झण्डै एक घण्टा जति लामो कुराकानी भयो । त्यसदिन मैले छोरीको मुहारमा कुनै मुस्कान देखिन । सायदसँगै बस्ने साथीले शहरको हस्पिटलमा नाम निकाली जान लागेकोले पो यस्तो भएको हो कि ?बुवा मेरो मन आज धेरै उदास छ ।नेपालमा त्यत्रो दुख र लगानी गरेर डाक्टर त्यत्रो दुख र लगानी गरेर डाक्टर पढ्यो तर, उनीहरुको श्रमको सम्मान छैन, मेसिन जस्तै दिन रात काममा लगाउँछन् ।पढेका भन्दा नि नपढेकाहरुको भलाई धेरै हुन्छ ।कतिले त दुई तीन महिना देखिको पारिश्रमिक समेत पाएका छैनन् । सुविधा जनक बस्ने कोठा छैन ।आफूलाई मेडिकल अफिसर भन्न पनि लाज लाग्दो उनी भन्दै थिइन् ।सानोसानो कुरामा पनि राजनीति हुन्छ । यहाँसम्मकी बस्ने क्वाटर पाउन पनि मन्त्रीलाई गुहार्न पर्ने ? यस्तो देशमा कसरी बस्ने ? म त यूरोप तिर जान पर्छ कि बुवा ? खै यहाँ के एम डि गर्नु र ? छोरी निराश हुँदै भन्दै थिइन् । मैले केही उत्तर दिन सकिन ।
बेलामै यूरोप अमेरिका तिर लाग्दा छोरीको भविष्य त राम्रै होला तर बाबु छोरी बिचको सम्बन्ध टुट्ने पो हो कि ? ममा चिन्ता बढ्यो । मैले यसै गर्नुपर्छ भनेर सल्लाह दिन सकिन ।
हाम्रो छोरीको स्वभाव अरुहरुको भन्दा अलिक फरक पाएँ ।समाजमा घुलमिल हुनु भन्दा पनि प्रकृतिलाई रुचाउने अलि एक्लै बसेर ध्यानमा तल्लिन हुन मन लाग्ने, एक्लै शान्त वातावरणमा अध्ययन गर्न रुचाउने।बढी अनौठो स्वभाव । विवाह गरेर परिवार नबनाए पनि हुँदैन र भन्ने ? मैले छोरीलाई नजिकबाट बुझ्न सकेको रहिनछु । उनी भन्ने थिइन् बुवा तपाईले बोलाएर चाहेर पनि म तपाईकोमा आउन सक्दिन तर मलाई मन भयो भने जुनसुकै बेलामा पनि आउन सक्छु ।त्यो मेरो अन्तर मनको कुरा हो ।कस्तो अनौठो भनाई । बुद्धको जस्तो या कुनै ध्यानी तपस्वीको जस्तो ।
म चाहान्छु हाम्री छोरी सामाजिक बनुन । घर परिवार र समाज प्रति माया ममता जागोस् । तर सामाजिक बनाउने कसरी ? मेडिकल अफिसर भइसकेको मान्छेलाई मैले भनेर लाग्छ र ? यसो गर उसो नगर कसरी भन्नु ?फेरि डा.छोरीको दिमागमा जीवनमा केही गर्न त विदेशतिर नै लाग्नुपर्छ भन्ने भूत चढेको पाएँ । नेपालमै बसेर मेडिकल साइन्सको विशेषज्ञता प्राप्त गर्नुपर्ने बेलामा विदेशमै नेपालको समदक्षताको परिक्षाको तयारीमा लाग्ने रे । ३ पटक परीक्षा दिनुपर्ने अन्तिम परीक्षा सम्बन्धीत देशमै गएर दिनुपर्ने । पास भएमा बल्ल एम.वि.वि.एस.को मान्यता पाउने रे । त्यसपछि मात्र छात्रवृत्तिमा एम.डी.पढेर काम गर्न पाइने । यति गर्न झण्डै २०,२५ लाख खर्च लाग्छ भन्दै थिइन् । यूरोप अमेरिकामा सेटल भयो भने जीवन नै अर्कै हुन्छ ।तोकिएको समयभन्दा बढी काम गर्न पर्दैन । तलब पनि मनग्गै हुन्छ ।त्यति बेला सके भने बुवालाई पनि उतै तानुला छोरी भन्दै थिइन् । तर, उनको यो वाक्य पुरा नहुदै मेरा नयनबाट आँशुका थोपाहरु झर्न थालीसकेको थियो । मैले छोरीलाई सम्झाउँदै भने नानी जसो गरेर पनि नेपालमै बस्नुपर्छ । कसलाई कहाँ भन्नुपर्छ म तयार छु के गर्नुपर्छ भनन । हाम्रो लागि अनि समाज र देशको लागि पनि त छोरी यही बस्नुपर्छ नि ।
विदेश जाने कुरा नगर म रुदै छोरीको पाउमा परें । तर उनको भने मन परिवर्तन हुन सकेको छैन । भन्छिन् बुवा मेरो आँखाबाट प्राय आँसु बग्दैन । म अलि कठोर स्वभावकी छु । त्यस दिन रातभर मलाई निद्रा परेन । बल्लबल्ल पाएको छोरी फेरी गुम्ने पो हो कि भन्ने चिन्ता । देशमा पढे लेखेका कर्मशील यूवाहरु यसरी विदेश नै जानपर्ने बाध्यता हुँदा पनि शासन सक्ता चलाउने नेताहरुमा अझै चेत आएको छैन ।के अब नेपाल भोका नाङ्गाहरु, रोगी बुढाबुढीहरुको मात्र देश हुने हो ?यस्तै हुँदै गयो भने आठ दश वर्षभित्रमा देश रित्तिने निश्चित छ । किन नेतृत्व वर्गलाई यस प्रति चेतना छैन ? हुन त उनीहरुले गर्न खोजेको पनि यस्तै हुन सक्छ । सबै नेताहरुका छोराछोरीहरु विदेशको नागरिकता लिएर उतै बसेका देखिन्छन् । लुट्न सकुन्जेल र जनताको मस्तिष्क भुट्न सकुन्जेल नेपालमै बस्ने, राष्ट्रियता र विकासको उग्र नारा लगाउने अनि प्रतिकूल अवस्थामा उतै छोरा बुहारीसँग बस्ने । कुरा त प्रष्ट नै छ नि । यस्ता नेताहरुबाट देश विकास हुन्छ भन्नु दिवा सपना जस्तै लाग्छ । एउटा मात्र हैन सबै राजनीतिक दलहरु उस्तै हुन् । लौन गुहार देश बचाउने क्षमता भएको कुनै छोराछोरी जन्मिएको भए शासनको शत्ता हात लिन अगाडी बढ्नुपर्यो ।जस्तो सुकै कठीन अवस्थामा पनि साथ दिन तयार छौं । डुब्न लागेको देशलाई बचाउ, डुब्न लागेको देशलाई बचाउ।हिजो आज मेरो मनले यही भनिरहन्छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |