नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८० का लागि ८०४ भित्तेपात्रो क्यालेण्डरलाई स्वीकृति दिएको छ । भित्तेपात्रो प्रकाशन गर्नेले समितिको स्वीकृति लिनुपर्ने गरी सरकारले २०७७ पुस २० गते गठन आदेश जारी गरेको थियो । गठन आदेश बमोजिम विसं २०८० का लागि हालसम्म ८०४ वटा भित्तेपात्रोले स्वीकृति पाएको र अहिले पनि केही भित्तेपात्रो प्रकाशन गर्ने संस्था स्वीकृति लिने क्रममा रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।
सरकारले जारी गरेको समितिको गठन आदेश विसं २०७८ असार महिनामा नेपाल राजपत्रमा प्रकाशन भएको र सो बमोजिम विसं २०७९ देखि समितिसँग स्वीकृति लिएर भित्तेपात्रो प्रकाशन हुन थालेको हो । गत वर्ष करिब एक हजार भित्तेपात्रो स्वीकृति लिएर प्रकाशन गरिएको थियो ।
समितिको स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोलाई कारबाही प्रक्रिया पनि अघि बढाइएको जानकारी उहाँले दिनुभयो । स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोको अनुगमनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा गृह मन्त्रालयसहित सरोकार भएका निकायका प्रतिनिधि सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ ।
उक्त समितिअन्तर्गत पञ्चाङ्गकार मुरारीराज पाण्डेको संयोजकत्वमा उपसमिति पनि गठन गरिएको र सो समितिमा संस्कृति र गृह मन्त्रालयका शाखा अधिकृत पनि सदस्य रहेका छन् । समिति र उप समितिले अनुगमन गरी स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोलाई कारबाही गर्न लागेको हो । समितिले आजैदेखि अनुगमन सुरु गरेको जनाइएको छ ।
स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोमा तिथि, मिति, चाड पर्वलगायतमा दोहोरोपन आउन थालेकाले सरकारले यस्तो व्यवस्था गरेको हो । समितिले अनलाइनबाटै भित्तेपात्रो प्रकाशनका लागि फारम भरेर स्वीकृति लिन सक्ने व्यवस्था पनि गरेको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |