काठमडौँ, १९ माघ ।
आकर्षक तलबको लोभ देखाएर एक महिलालाई कुवेत पुर्याइ १८ घण्टासम्म काममा लगाएर मानसिक र शारीरिक यातना दिएको पाइएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पीडित महिलाले दिएको सूचनाका आधारमा उनलाई कुवेतबाट उद्धार गरिएको छ भने आरोपीमध्ये दुई जनालाई पक्राउ गरिएको छ ।
ब्यूरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले पीडितको जाहेरीपछि पक्राउ पर्नेमा उदयपुरका ४४ वर्षीय रवि थापा मगर भन्ने लालबहादुर मगर र इलामका डम्बर मगर भन्ने डम्बरबहादुर दर्लामी रहेका जानकारी दिनुभयो । केही आरोपी कुवेतमै रहेको र केही फरार रहेकाले खोजी जारी रहेको उहाँले बताउनुभयो ।
ब्यूरोमा प्राप्त विवरण अनुसार ती व्यक्तिहरुले सुरुमा कुवेतमा रहेको रेष्टुरेन्टमा वेट्रेसको काममा मासिक आकर्षक तलब दिने र त्यहाँ राम्रो काम गरेपछि पोर्तुगल र अमेरिकाका रेष्टुरेन्टमा समेत पठाइदिने लोभ लेखाएर गएको मङ्सिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भ्रमण भिसामा युएई हुँदै कुवेत पुर्याएका थिए ।
कुवेत पुगेपछि उनलाई अन्य एजेन्टमार्फत् एक हजार ३०० दिनारमा बिक्री गरेको खुलेको छ । त्यसपछि उनलाई दैनिक १८ घण्टासम्म श्रम शोषण गरी मानसिक र शारीरिक यातना दिएको महिलाले दिएको जाहेरीमा उल्लेख छ ।
आफूले यातना पाएको भनी उनले दिएको सूचनाका आधारमा परिवारले ब्यूरोमा उजुरी दिएका थिए । ब्यूरोले कुवेतस्थित नेपाली राजदूतावाससँगको समन्वयमा उनलाई यही माघ ४ गते उद्धार गरी नेपाल फर्काएको थियो । पीडित महिलाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम हदैसम्मको कारबाही गरी पाउँ भनी माघ १० गते जाहेरी दिएकी थिइन् ।
हाल कुवेतमै रहेका एक आरोपीले पीडितको मोबाइल नियन्त्रणमा लिई उनको फेसबुकबाट विभिन्न व्यक्तिलाई अश्लिल कुराकानी गर्ने र सो कुराको रेकर्ड पीडितका श्रीमान्लगायतका आफन्तलाई पठाइ धम्की दिने गरेको खुल्न आएको छ ।
उनीहरुले पीडित महिलालाई धम्की दिई कुवेतमा आफूखुसी आएको र बेचबिखनमा परेको होइन, नेपाल गएपछि यस विषयमा उजुरी गर्ने छैन भन्ने बेहोराको कागज गराइ भिडियोसमेत बनाएको खुल्न आएको छ ।उक्त घटनामा संलग्न रहेका अन्य फरार व्यक्तिको खोजी जारी रहेको ब्यूरोले जानकारी दिएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |