कृष्णराज अधिकारी
हाम्रो जीवनमा कति अनौठा घटनाहरु घटेका हुन सक्छन् । तर, हामी केही समय या वर्षसम्म सम्झिन्छौं पछि आफै मानसपटलबाट हराएका छन् । खोलाको पानी जस्तै बग्दै जान्छ या भनौं उमेर बढ्दै जान्छ र एकदिन बुढ्यौलीमा प्रवेश गछौं अनि ऐया र आत्था शुरु हुन्छ । यही हो हाम्रो जीवन चक्र ।
मलाई आज कता कता आफ्नै बाल्यकालमा भएका घटनाहरु जो आफैंलाई रोचक अनौठो र लाज लाग्दो रहेको छ । तपाईहरु समक्ष प्रस्तुत गर्ने अनुमति माग्दैछु ।
त्यतिखेर म छ वर्षको हुँदो हुँ । शिशु कक्षा उत्तीर्ण गरेर कक्षा १ मा श्री कालिका प्रावि ढोलामा अध्ययन गर्दथे । हाम्रो विद्यालयलाई ढोला मैदानको स्कूल पनि भन्ने गरिन्थ्यो । संस्थाले बनाएको बचत घर थियो । त्यही घरको माथिल्लो तलामा हामी पढ्ने गर्दथ्यौं । शिशु कक्षा देखि ५ कक्षासम्म पढाई हुने भएपनि कोठाहरु थिएन । हामी आ–आफ्ना कक्षाका विद्यार्थीहरु छुट्टाछुट्टै गोलबन्द भै लहरै छुट्टिएर बस्ने गर्दथ्यौं । आदरणीय गुरुहरु स्व.तोयानाथ दुवाडी प्रधानाध्यापक र शशि विक्रम शाह सहायक शिक्षक हुनुहुन्थ्यो । तोयानाथ दुवाडीलाई हामी गुरु भनेर सम्बोधन गर्दथ्यौं । उहाँले नेपाली र रमाइलो माला पढाउनु हुन्थ्यो । प्रत्येकको कापीमा बान्की परेका अक्षरले ह्यान्ड राइटिङ नेपालीमा लेखिदिनु हुन्थ्यो । हामी पनि उहाँ जस्तो अक्षर बनाउनुभएको छ त्यस्तै नक्कल गरी पन्ना भरी लेखेर बुझाउने गर्दथ्यौं । आफ्ना विद्यार्थीहरुलाई औधी माया गर्नुहुन्थ्यो । शशि विक्रम शाह अलि हाँसी मजाक गर्ने मान्छे । त्यस बखत पनि छड्के झल्लरी क्याप लगाएर स्कूल आउनुहुन्थ्यो । उहाँले भने हामीलाई अग्रेजी पढाउनु हुन्थ्यो । अलि कडा स्वभावको गृहकार्य नबुझाए भनेको नमाने या उहाँको नजरमा दोषी ठहरिए ठूलै सजाय भोग्नु पर्दथ्यो । भूँइमा हात राख्न लगाएर छडीले हिर्काउने , कानमान गर्ने, गाला चड्काउने, टूपी तान्ने आदि इत्यादि । मलाई त शशि सर स्कूल नआएको दिन मन नै चङ्गा हुन्थ्यो ।
बच्चा बेलामा अहिले जस्तो प्रसस्त कापी कलम कहाँ पाइन्थ्यो र ? पाना पाना उठाएर चिट्ठा खेल्थ्यौं । पर्नेको भागमा१०,१२ पानासम्म हुन्थ्यो त्यसैलाई घरमा गई धागोले सिएर कापीको बुक बनाउथ्यौं । एक दिनको कुरा हो शशि सरले अंग्रेजीको राइटिङ दिनुभएको पन्ना हराएछ । हाफ छुट्टी पछि राइटिङ बुझाउने पालो थियो । लेखेको राइटिङ हराएपछि अब पक्का छडी खाइन्छ होला जस्तो लाग्यो । अब कसरी सजायबाट बच्ने ? मैले घरमा श्राद्ध छ विदा दिनुपर्यो भनेर ढाँटेर बिदा मागें । त्यतिखेर गाउँमा गोरुले कलमा उखु पेल्ने चलन थियो । उखु पेलेको रस्यौटोमा रमाइलो हुन्थ्यो । काठे उखु रस्यौटोमा भुतभुते बनाई बाहिर ढुङ्गामा पछार्दा गाउँ नै हल्लने आवाज निस्कन्थ्यो । म पनि त्यही रमाइलो तिर लागे ।
बेलुका ४बजेपछि स्कूल छुट्टी भएछ । शशि सर पनि मै भएको रस्यौटीमा आउनुभयो त्यहाँ मलाई देखेर तँ त श्राद्ध छ भनेर आएको हैन, किन यता भन्नुभयो । लौ मैले ढाँटेको कुरा थाहा भएछ क्यार भनि मेरो मनमा ढ्याङ्ग्रो बज्न थाल्यो । बेलुका खाना पनि खान मन लागेन । भोलीपल्ट मलाई विद्यालय जाने आँट आएन । म खाना खाएर लुसुक्क ऊखु पोलेको कोल तिर नै दिनभर हराएँ । त्यसदिन त्यत्तिकै बित्यो । त्यसको भोलीपल्ट झन् मलाई विद्यालय जान आँट आएन । अब मलाई हिजो किन नआएको भनेर छकी हान्नु हुनेछ म जान्न भनेर घरबाट भागेर अन्तै गएँ । यसो गर्दागर्दै १०,१२ दिन बितेछ । बल्ल घरमा म विद्यालय नगएको कुरा थाहा भयो । मैले सबै बेलिबिस्तार लगाएपछि बाबाले च्यापेर विद्यालय लैजानुभयो । मलाई शशि सर देख्नासाथ काल अगाडी आए जस्तो लाग्थ्यो । तर, बाबाले उहाँसँग केके भन्नुभयो कुन्नी मलाई केही गर्नुभएन । झन्डै मैले डरको कारणले विद्यालय छोड्न परेको । सो घटनाले मलाई अहिले पनि तरंगित बनाइ रहन्छ ।
(लेखक अधिवक्ता एंव नेपाल मानव अधिकार संगठन, धादिङ शाखाका सभापति हुनुहुन्छ । )
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |