कृष्णराज अधिकारी
केहि दिन अघि धादिङ जिल्ला अदालतमा दिपेश लामा तामाङ भन्ने चाइनिज नागरिक तासी फूतसकिको तर्फबाट झुट्टा नागरिकता मुद्दामा ईजलाशमा वहस चल्यो । बहस सकेर अधिवक्ता नेपाल मानव अधिकार संगठनका केन्द्रिय अध्यक्ष महामुनिश्वर आचार्यसँगै अदालतबाट निस्किएका थियौ । तिब्बती शरणार्थीको मुद्दा भएकोले UNHCR मार्फत नेपाल मानवअधिकार संगठनले सो मुद्दा हेरेको थियो ।
बहस सकेर अध्यक्षज्युले धादिङमा हेर्न लायक नजिकको ठाउँ कतै जाने इच्छा राख्नुभयो । धादिङबेसीबाट सहज बाटो र नजिकको गन्तव्य ठ्याक्कै दिमागमा आएन । अनि सहकर्मी मानवअधिकारकर्मी ईश्वर थापा मगरसँग सल्लाह मागे । उहाँले हामीलाई टारी बेशी जान सुझाव दिनुभयो । हामी त्यतैतिर लाग्यौं । बाटोमा जाँदै गर्दा पत्रकार गोमा थापाले फोन गर्नुभयो । लेख रचना लेख्नको लागि आग्रह गर्नको लागि उहाँले फोन गर्नुभएको रहेछ । के लेख्ने होला भन्दै सोच्ने क्रममा केहि दिनअघि आफ्नो जीवनमा घटेको घटनाको परिदृश्य दिमागमा आउन थाल्यो । र यो पङ्तिकारले त्यसै घटनाको विषयलाई समेटेर यो लेख तयार पार्दैछु ।
कुरा यही पौष महिनाको ७ गतेको हो । भोलीपल्ट औशी तिथिमा मेरो आमाकोे श्राद्ध गर्ने तिथि थियो । यो लेखमा एक भक्तिको दिनको चर्चा गदैछु । हिन्दु संस्कार अनुसार बिहानैदेखि कपाल मुण्डन गरी नुहाई धुवाईका साथ चोखो बस्ने खाने दिन । यस पटकको पौष ७ गते मेरो लागि महत्वपूर्ण दिन थियो । पहिलो त त्यस दिन बार स्थापना दिवश । म निवर्तमान अध्यक्ष भएको नाताले पनि बारको कार्यक्रममा सरिक हुन नैतिक दायित्व पनि थियो । दोस्रो हेड्स नेपालको पनि अधिवेशनको मिति तय गर्ने बैठक । म सदस्यतको नाताले उक्त बैठकमा पनि सहभागी हुनुपर्ने थियो । तेस्रो र महत्वपूर्ण भनेको आठौं धादिङ महोत्सवको उद्घाटनको दिन, धादिङ बेशीको पुछारबजारबाट र्याली सहित खुलामञ्चमा भेला हुनुपर्ने दिन । धादिङ उद्योग वाणिज्य संघले नेपाल मानव अधिकार संगठनलाई पनि मूल आयोजक समितिमा राखेकोले उक्त संगठनको सभापति भएको नाताले पनि र्याली सहितको कार्यक्रममा सहभागिता जनाउनुपर्ने नै भयो ।
खास त म एकभक्तिको दिन घरबाट सकेसम्म बाहिर निस्कने गर्दिन । यो पटक मलाई घरमै बस्ने वातावरण मिलेन । झोलामा घरबाटै खानेपानी बोकेर निस्किएँ । आफ्नै ल फर्ममा आएँ । हेड्स नेपालको बैठक सकेर आदरणीय भूपेन्द्र सरसँगै मेरै अफिसमा आई केही बेर गफ गर्यौं । भूपेन्द्र सर पनि महोत्सवको र्यालीमा सहभागी हुन आउनुभएको रहेछ । म पनि उहाँसँगै सहभागी भएँ । हामी दुवैजना पुछारबजार झर्यौं । बिहानको ११ बजे पुछारबजारबाट र्याली निस्कने भनेता पनि आयोजक कै अनुपस्थितिको कारणले १ बजे मात्रै र्याली अगाडी बढ्यो । म विभिन्न भेषभूषा र झाँकीले सज्जिएको र्यालीसँगै अगाडी बढें । बीचबजार चोकमा आइपुग्दा दिनको साँढे २ बजि सकेको थियो । धादिङ बारले पनि सोही समयमा बार दिवसको कार्यक्रम राखेकोले म साथीहरुलाई खुलामञ्चमै भेट्ने बाचा गर्दै बारको कार्यक्रममा लागेँ ।
म पुग्दा कार्यक्रम चलिरहेको थियो । साथीहरुले छोटो मिठो कार्यक्रम बनाउनु भएको रहेछ । आधा घण्टामै कार्यक्रम सकियो । भेज र ननभेज खाजाको व्यवस्था रहेछ । झण्डै २ घण्टादेखि घाममा जुलुसमा हिडेर आएको भएन होला मलाई भोक र पानीको प्यास दुवै लागेको थियो । मैले अगाडी राखेको ननभेज खाजा फटाफट खाएँ । तातो चिया पनि पिइयो त्यसपछि महोत्सव स्थल तर्फ लागे ।
महोत्सव स्थलभित्र मानव अधिकार संगठनका साथीहरुले मगर खाजा कर्नर राख्नु भएको थियो । उक्त स्टल राख्न मैले पनि सल्लाह दिएको थिएँ । हल्लाखल्ला र धुलोको कारणले गर्दा पनि म साथीहरुको मगर खाजा कर्नर तिर गएँ । ईश्वर र राम मगरसँगै बसेर चिया खान आग्रह गर्नुभयो । म चिया पिउन भनि कुर्चीमा बसे । तत्काल चिया आएन । चियाको पर्खाइमा बस्दा पो एकभक्तिको दिनको याद आयो । खाजा चिया पहिले नै खाइसकेको थिएँ ।
दिउँसो नै बार एशोसिएशनको कार्यक्रममा मज्जाले ननभेज खाजा खाइसकेको थिए । मैले त्यहाँको चिया नखाइ घर फर्किएँ । घर पुगेर नुहाएँ अनि लगाएको जनै पनि फेरें । एकजना शुभचिन्तकलाई दिनभरको बेलिविस्तार लगाएँ । उहाँले सल्लाह दिनुभयो–नयाँ जनै फेर्ने,गाईको टाङ मुनी छिरेर गहुत पानी खाने, जिब्रोको टुप्यो छ्ेड्नु अनि ओछ्यानमा गइ एक आधा घण्टा सुतेर उठेपछि सबै गल्ती माफ हुन्छ । मैले त्यसै अनुसार गर्ने जमर्को गरें । जिब्रो छेड्न चाहि आँट आएन । चिरिक्क रगत निकालें ।
भोलीपल्ट औंसी तिथिको श्राद्ध ११ बजे तिरबाट शुरु भयो । पण्डित हरि पोखरेल हुनुहुन्थ्यो । श्राद्धको सुरुमै मैले गोदान गर्न भने र गोदानबाट श्राद्धको सुरुवात भयो । पितृहरुलाई तर्पण दिदै पितृ श्राद्धलाई सिध्याए । मबाट भएको भूलको कुरा भने यो लेख लेख्नुभन्दा अगाडीसम्म कसैलाई भन्ने आँट गरेको थिइन तर, आज गोमा बहिनीको आग्रहले गर्दा लेख मार्फत सार्वजनिक गरें । एकभक्ति (एकछाकी) को दिन भएको सामान्य भूलले मनमा उठेको उतार चढावलाई यस लेखमा उतार्ने प्रयास गरें । परम्परागत संस्कारलाई न तोड्न सकिन्छ नत अनुशरण नै गर्न सकिने रहेछ ।
(लेखक अधिवक्ता एंव नेपाल मानव अधिकार संगठन, धादिङ शाखाका सभापति हुनुहुन्छ । )
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |