धादिङ,१५ कात्तिक
मुसीकोट–७ का भीमबहादुर पाण्डेले गोरु पाल्न छाडिसक्नुभयो । केही वर्षअघि उहाँको गोठमा एक हल गोरु बाँधिएको हुन्थ्यो । उहाँको बाउबाजेले गोरुबाट नै खेतीपाती गर्दै आउनुभयो । तर उहाँका गाईवस्तु बाँध्ने भकारोमा अहिले गोरु देखिँदैनन् । उहाँले आधुनिक कृषि औजारको प्रयोग गर्न थालेपछि गोरु पाल्न छाड्नुभएको हो । उहाँसँग जोत्नका लागि मिनीटिलर (हाते ट्र्याक्टर) छ । त्यस्तै गहुँ, धान केलाउन थ्रेसरको प्रयोग गरिरहनुभएको छ । पाण्डे मात्र होइन, रुकुमपश्चिमका किसान आधुनिक औजारको प्रयोगमा लागेका छन् ।
गोरुले एक दिनमा हुने काम आधुनिक कृषि औजारले दुई घण्टामै हुने भएपछि जिल्लाका किसानको आकर्षण ती औजारमा देखिएको हो । पछिल्लो समय आधुनिक कृषि औजारको प्रयोग बढ्दै गएको छ । कृषिको काम गर्दा सहज, छरितो हुने भएपछि जिल्लाका किसान आधुनिक कृषि औजार आकर्षित भएका हुन् । जिल्लामा परम्परागत कृषिबाट कृषक आधुनिक कृषि प्रणालीमा लागेसँगै आधुनिक कृषियन्त्रको प्रयोग बढेको हो । जिल्ला कृषि विकास कार्यालयले कृषि औजार किन्न किसानलाई अनुदान दिने गरेको छ । कार्यालयका अनुसार जिल्लामा ३० प्रतिशत किसानले आधुनिक कृषि औजार प्रयोग गर्ने गरेका छन् ।
मिनीटिलर, थ्रेसर, च्यापकटर, सोलारड्रायर, हातेपङ्खाजस्ता औजार प्रयोग हुने गरेको छ । जिल्लाको सबै क्षेत्रमा आधुनिक कृषि औजारको प्रयोग हुने गरेको कार्यालय प्रमुख मीनबहादुर केसीले जानकारी दिनुभयो । सङ्घीय , प्रदेश , प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, एक पालिका एक उत्पादनलगायत कार्यक्रमले कृषकलाई ती सामग्री वितरण गर्ने गरेको उहाँले बताउनुभयो । कृषकलाई ५० प्रतिशत अनुदानमा औजार वितरण भइरहेको उहाँको भनाइ छ । कृषकले आफैँले पनि ती औजार खरिद गरी प्रयोग गरिरहेका छन् । आधुनिक कृषि औजारमार्फत काम गर्दा सहज हुने भएपछि किसानको आकर्षण बढेको किसानको भनाइ छ । एक हल गोरुले एक दिनमा जोत्ने बारी हाते टेलरले दुई घण्टामा सकाउने किसान बलबहादुर केसीले सुनाउनुभयो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |