हरितालिका (तिज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिलाहरू छन्। दर खाने दिनसँगै चार दिने तिज पर्व आजदेखि सुरु हुँदैछ। विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तिजको पहिलो दिन आज दर खाइन्छ।
माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ। जसले व्रतका दिन आडिलो बनाउँछ। दर नीराहार व्रतका लागि तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई मङ्गलबारको व्रतका लागि पूर्व तयारी गर्छन्।
माइती एवं दाजुभाईले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन्। दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्।
महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तिजलाई उपयोग गर्ने गरेका छन्। तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन्। जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन्।
तिजको संस्कृति बन्दैछ विकृति
पछिल्ला वर्षहरुमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ। एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तिजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको र यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीहरुले जोड दिएका छन्।
एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेपनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा दर खाने दिनका लागि तोकिएको छ। पछिल्लो समय सरकारी कार्यालयमा समेत एक महिनाअघिदेखि नै तीज कार्यक्रमको तामझाम हुने गरेको छ। समाजमा सुरु भएको विकृति रोक्नुपर्ने जिम्मेवारी बोकेका सरकारी कार्यालय नै विकृतिका भासमा जाकिएपछि यसले संस्थागत रुप लिँदै गएको छ।
दरसँगै सुरु हुँदै चार दिने तिज सोमबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तिज समापन हुन्छ।
यस वर्ष गणेशको उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी भदौ १५ गते बुधबार, ऋषि पञ्चमी पर्व भदौ १६ गते बिहीबार मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ। गणेश चौँथी प्रातः कालमा तिथि परेका दिन मनाइन्छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |