काठमाडौं,१० चैत्र ।
सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहितरूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ ल्याएको छ।
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षता बिहीवार बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।
‘बैठकले निर्वाचनका लागि आवश्यक पर्ने एकीकृत सुरक्षा नीति पारित गरेको छ,’ प्रवक्ता पोखरेलले भने, ‘अब स्थानीय तह निर्वाचन र अन्य निर्वाचन पनि त्यही सुरक्षा नीतिअनुरुप सम्पन्न गर्न सजिलो हुन्छ। निर्वाचन निष्पक्ष र भयरहितरूपमा सम्पन्न गर्न यो नीतिले सहयोग पुर्याउँछ।’
बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र निर्वाचनमा सम्पन्न गर्न गर्नुपर्ने कार्यबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए। प्रवक्ता पोखरेलका अनुसार आगामी सुरक्षा चुनौती र ती चुनौतीलाई सम्बोधन गर्न अपनाउनुपर्ने रणनीतिबारे पनि छलफल भएको थियो।
बैठकमा शुक्रबारदेखि हुने चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणमा सुरक्षाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि छलफल भएको बताइएको छ। बैठकमा गृहमन्त्री खाँणले चिनियाँ विदेशमन्त्री वाङको भ्रमणका बेला आवश्यक सुरक्षा गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका थिए।
बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुनाथ खरेल, गृहप्रवक्ता पोखरेललगायतको सहभागिता थियो।–रासस
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |