लन्डन,५ चैत्र ।
नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ।
नेपाली दूतावास लण्डनमा शुक्रवार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई उक्त मूर्ति हस्तान्तरण गरिएको हो।
सोह्रौँ शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरणको मूर्ति काठमाडौँको हनुमानढोका कुमारी बहालबाट हराएको थियो। यसैगरी १८औँ शताब्दीतिर कुँदिएको घुँडा टेकेर नमस्ते मुद्रामा रहेको ढुङ्गाको मूर्ति काठमाडौँको ओमबहालस्थित मञ्जुश्री मन्दिरबाट हराएको थियो।
गृह मन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने बेलायती सरकारको नीतिअनुसार हराएका मूर्ति पुनः प्राप्त गरी नेपाललाई हस्तान्तरण गरिएको हो।
मूर्ति हस्तान्तरण समारोहमा राजदूत आचार्यले बेलायत सरकार तथा प्रहरीलाई नेपाल सरकारको तर्फबाट कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा रहेको दूतावासले जनाएको छ। बेलायत प्रहरीका तर्फबाट आफ्नो भनाइ राख्दै डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले बरामद गरिएका प्राचीन सामग्री फिर्ता गर्न पाउँदा खुसी लागेको बताए।
हस्तान्तरण गरिएका मूर्ति चाँडै नै नेपालको पुरातत्व विभाग पठाउने व्यवस्था मिलाइने राजदूत आचार्यले जानकारी गराएको नियोग उपप्रमुख रोशनी खनालले बताइन्। ग्लास्गो युनिभर्सिटीमा अपराध विज्ञानकी प्राध्यापक डा. इमिलिन स्मिथले नेपाललाई सांस्कृतिक वस्तु फिर्ता गर्ने कार्यमा संलग्न हुन पाएकामा गर्व लागेको बताए।–रासस
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |