काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग–०७८ को अन्तिम दिन त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँगै आर्मीले दोस्रो स्थानमा रहँदै लिग टुङ्ग्याएको छ ।
अपराजित रहँदै लिग टुङग्याएको आर्मीले १३ खेलबाट २३ अंक जोड्यो । समान खेलबाट २१ अंक जोड्दै मनाङ पाँचौ स्थानमा रह्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ४५औँ मिनेटमा अञ्जन विष्टले गरेको गोलबाट मनाङले अग्रता लिएको थियो । दिनेश राजवंशीले गरेको हेडर रिबाउन्डमा अन्जनले बललाई जाली चुमाएका थिए ।
तर, मनाङका गोलकिपर अशोक बरालले ७१औँ मिनेट गम्भीर गल्ती गरेपछि आर्मी खेलमा फर्किएको थियो । सन्तोष तामाङले गरेका फ्रि किकमा अशोक र टोलीका डिफेन्डरबीच मिस कम्युनिकेशन भएपछि मनाङका डिफेन्डर फ्रयांकलिन टल्लाको ढाडमा लागेर बलले पोस्टको दिशा लिएको थियो ।
त्यसअघि दोस्रो मिनेटमा आर्मीका सुमन अर्यालले बक्स बाहिरबाट प्रहार गरेको लोअर फ्रि किक सेकेन्ड बारको नजिकैबाट बाहिरियो ।पाँचौ मिनेटमा सन्तोष तामाङले १८ यार्ड बक्सबाट प्रहार गरेको फ्रि किक पहिलो बारबाट बाहिरियो ।
खेलको सुरुआती मिनेटमा तालमेल नमिले पनि त्यसपछिको आधा घण्टासम्म मनाङमाथि आर्मी हावी देखियो । यद्यपि, आर्मीले पहिलो हाफमा पाएका गोलका अवसर सदुपयोग गर्न सकेन ।
३२औँ मिनेटमा आर्मीका योद्धा साहीले गरेको गल्तीको फाइदा मनाङले उठाउन सकेन । मनाङको डिफेन्सबाट आएको लामो बललाई योद्धाले नियन्त्रणमा लिन सकेनन् । सोही बलमा गोलकिपर विकेश कुथु पनि अघि बढेको अवस्थामा मनाङका कप्तान अन्जन विष्ट बलसम्म पुग्न सकेनन् । दोस्रो हाफको सुरुआती १० मिनेटमा दुवै टोलीले गोलका गतिलो मौका बनाउन सकेनन ।
आर्मीका विमल पाण्डेले ६३औँ मिनेटमा मैदानको मध्यभागबाट गरेको प्रहार मनाङका गोलकिपर अशोक बरालले सहजै बचाए ।
आर्मीका जर्ज प्रिन्सले ६९औँ मिनेटमा खेलमा फर्किने निकै राम्रो मौका गुमाए । आर्मीका टंक बस्नेतले गरेको कर्नर प्रहार मछिन्द्रका पुजन उपरकोटीले क्लियर गर्न नसक्दा ६ यार्ड बक्सबाट जर्ज प्रिन्सले गरेको प्रहार पोलमाथिबाट बाहिरियो ।
लिगको ११औँ चरणमा सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गरेसँगै साविक विजेता मछिन्द्र फुटबल क्लबले उपाधि रक्षा गरेको थियो । यस्तै तालिकाको पुछारमा च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) दोस्रो डिभिजनमा घटुवा भइसकेका छन् ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |