काठमाडौं, ३० पुस
नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल रंगशालामा गएर नहेर्ने बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले जारी शीर्ष डिभिजन लिगका खेल मैदान गएर नहर्ने र टेलिभिजनबाटै हेर्ने प्रतिक्रिया दिएका हुन् ।
पछिल्लो समय लिग खेलिरहेका खेलाडीलाई होटलमा बोलाएर १५ र १८ माघमा दशरथ रंगशालामा हुने मौरिससँगको खेलमा खेलाडीलाई ‘विभिन्न होमवर्क’ दिएको विषय बाहिर आउनु र क्लबले समेत अखिल नेपाल फुटबल संघ (एन्फा) मा पत्र काटेपछि कुवेती नागरिक अब्दुल्लाहले सामाजिक सञ्जालमा आक्रोश ब्यक्त गरेका हुन् ।
उनले खेलाडीलाई मौरिसससँगको खेलमा कुनै दबाब नदिएको बताएका छन् । ‘मैले कहिल्यै पनि खेलाडीलाई लिगको खेलमा १०० प्रतिशत दिएर नखेल्नु भनेको छैन । मलाई विश्वास छ, क्लबमा १०० प्रतिशत नदिनेले राष्ट्रिय टोलीमा पनि १०० प्रतिशत दिँदैन,’ उनले खेलेका छन् ।
यसअघि अब्दुल्लाहले पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँग ३४ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका थिए । जसमा सात खेलाडीले पहिलोपटक मौका पाएका छन् ।
अब्दुल्लाहले यसै हप्ता खेलाडीलाई आफू बसेको ठमेलको एक होटलमा बोलाए मौरिसससँग खेलमा खेलाडीलाई विभिन्न ‘होकवर्क’ दिएको र लिगमा बचेर खेल्न बताएको एक क्लबका प्रशिक्षकले न्युज कारखानालाई बताए ।
‘क्लब र प्रशिक्षकलाई उहाँले थाहै नदिई खेलाडीलाई भेट्नु भएछ । उहाँले मौसिसससँग खेल्नुअघि खेलाडीलाई ‘होमवर्क’ दिने, बचेर खेल भने, यस्तो गर्नुभएको रहेछ,’ नाम नबताउने सर्तमा एक शीर्ष क्लबका प्रशिक्षकले भने ।
‘लिग चलिरहेको छ । उनले खेलाडीलाई बचेर खेल भन्नेबित्तिकै खेलाडी चोट छ बनेर बसिरहेका छन् । यसरी भेट्न पनि हुन्न थियो । क्लबले यत्रो लगानी गरेको छ । अझ नवौं चरणपछि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनुपर्ने थियो, त्यो नहुँदा हामीलाई गाह्रो भयो । खेलाडीले पनि लिग र राष्ट्रिय टोली दुवैको दबाब लिए,’ उनले भने ।
यससँगै जारी लिगमा साँतौ चरणबाटै शीर्षस्थानमा रही एएफसी कपमा नेपालको प्रतिनिधित्व गरेको मछिन्द्र क्लबले प्रशिक्षकको यो हर्कतसँगै एन्फालाई पत्र नै काटेको छ ।
जारी लिगको नवौं चरण आजबाट सुरु हुँदैछ । सोमबारसम्म चल्ने यस चरणको खेलपछि लिगका खेलले विश्राम पाउनेछ र नेपाली टोली मौरिसससँग हुने खेल तयारीमा लाग्नेछन् भने यही समयमा मोफसलमा विभिन्न प्रतियागिता रहने तालिका छ ।
प्रशिक्षक अब्दुल्लाह भने लिग र क्लब नै फुटबल विकासको मुख्य आधार भएको र आफूले खेलाडीलाई नखेल भन्न नसक्ने बताउँछन् ।
‘मलाई विश्वास छ, क्लब र लिग नै फुटबल विकासको मुख्य आधार हो । त्यसकारण मैले कसरी खेलाडीलाई १०० प्रतिशत दिएर नखेल भन्न सक्छु,’ उनले लेखेका छन् । यस्तै उनले आफ्नो उपस्थितिले खेलाडी र क्लबलाई दबाब सिर्जना भएको हो भने मैदान नगई लिग हेर्ने बताए ।
‘मेरो उपस्थितिले खेलाडी तथा क्लबलाई दबाब सिर्जना भएको हो भने मसँग समस्या समाधानको एक उपाय छ । म टेलिभिजनमा लिगका खेल हेर्छु । सबै क्लब र खेलाडीहरूलाई लिगका लागि शुभकामना,’ छैटौं चरण समाप्तिपछि नेपाल आएका अब्दुल्लाहले भनेका छन् ।
यसो त प्रशिक्षक अब्दुल्लाहको यो घुर्की हर्कत पहिलो हैन । उनले नेपाल आएदेखि नै यस्ता आचरण देखाउँदै आएका छन् ।
एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई मेन्सन गरी उनकै कारण आफूले एन्फामा राजीनामा दिन गएको बताएका अब्दुल्लाहले धेरैपटक राजीनामाको घुर्की देखाएका छन् । नेपाल पहिलोपटक साफ फुटबलको इतिहासमा २८ वर्षपछि फाइनल पुग्दासमेत अब्दुल्लाहले आफू नेपाली टोलीमा नरहने घुर्की देखाएका थिए । यद्यपि उनले सन् २०२२ सम्म सम्झौता नवीकरण गरेका छन् ।
Photo: ANFA
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |