बुटवल, २४ पुस
गृहमन्त्री बालकृष्ण खाँणकाे ठाडो निर्देशनमा मध्यरातसम्म मतदाता नामावली संकलन गरिएपछि बुटवलको इलाका प्रशासन कार्यालयमा नेकपा (एमाले)ले तालाबन्दी गरेको छ ।
बुटवलको नयाँ बसपार्क परिसरमा रहेको इलाका प्रशासनमा शुक्रबार राति साढे १० बजेतिर फोटोसहितको मतदाता नामावली संकलन भइरहेको सूचना पाएपछि एमाले कार्यकर्ताले राति ११ बजेतिर ताला लगाएका हुन् ।
एमाले निकट एक कर्मचारीले दिएको सूचनाका आधारमा एमाले बुटवल उपमहानगर कमिटीका निवर्तमान अध्यक्ष बाबुराम पन्थीको नेतृत्वमा गएको टोलीले ताला लगाएको हो । त्यसक्रममा केही बेर तनाव उत्पन्न भएको थियो ।
बाहिरी गेटमा ताला लगाइएका कारण रातिमा फोटो सहितको मतदाता नामावली दर्ताका लागि पुगेकाहरु भित्रै थुनिएका थिए । सुरक्षाकर्मीको उपस्थितिमा नामावली संकलन भएको र उक्त काममा गृहमन्त्रीको निर्देशन अनुसार भएको कार्यालयका एक कर्मचारीले बताए ।
‘केही दिनअघि गृहमन्त्रीले फोन गरेर राति भए पनि नामावली संकलन गर्न र कांग्रेस समर्थक मतदाता र कार्याकर्तालाई नामावलीमा नछुटाउन निर्देशन दिनुभएको थियो, सोही अनुसार हामीले नामावली संकलन गरेका हौं,’ ती कर्मचारीले भने ।
मतदाता नामावली संकलन गर्ने क्रममा नेपाली कांग्रेस बुटवल-१९ का अध्यक्ष टिकाराम पाण्डेको नेतृत्वमा अन्य कार्यकर्तासमेत इलाका प्रशासनमा पुगेका थिए । एमालेले कागजात नपुगे पनि मतदाता नामावली भर्ने काम भएको आरोप लगाएको छ ।
करिब एक घण्टा तनावपूर्ण स्थिति देखिएपछि मध्यरातसम्म नामावली संकलन गर्न प्रयोग भएका कागजात तथा ल्यापटपलगायतका सामग्री आइतबार सर्वपक्षीय सहमतिमा खोल्ने गरी कोठा बन्द गरिएको छ ।
हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ने इलाका प्रशासन कार्यालयको मतदाता संकलन केन्द्र शुक्रबार भने सुरक्षा घेराकै बीच रातिसम्म खुलेको थियो । एमाले युवा नेता यमराज पाण्डेले प्रहरी निगरानीमै नियमविपरीत मध्यरातमा नामावली भराउने काम भएको र यो सत्ताको चरम दुरुपयोग भएको बताए । तालाबन्दीपछि मतदाता नामावलीमा नाम दर्ताका लागि आएका करिब १५० भन्दा बढीलाई घर फर्काइएको थियो ।
नियन्त्रणमा लिइएका कागजात लगायतका सामग्री कार्यालयमा कार्यरत कर्मचारी विपना अर्याल र सुरक्षाकर्मीहरुको रोहबरमा आइतबार आवश्यक छलफलपछि मात्रै खोल्ने सहमति भएको छ ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |