धादिङबेशी । त्रिपुरासुन्दरी भगवती माईको जात्रा बिविध सास्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका– ४ सल्यानकोट डांडाको मन्दिरबाट भगवतीको मुर्तिलाई बाकसभित्र राखी पिठ्युमा बोकेर त्रिपुरासुन्दरी गाउँपालिका–६ माईथानबेसीको मन्दिरमा माइत झारेसँगै यो वर्षको जात्रा सकिएको हो ।
अघिअघि पञ्चेबाजासँगै नाङ्गो खुँडा, खुकुरी बोकेका युवा त्यसपछि दियो, कलश, शङ्ख, घण्ट सहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने गरी सयौँ मानिसहरु दायाँबायाँ बसेर पूजापाठ र अबीर जात्रा गर्दै त्रिपुरासुन्दरी भगवतीको प्रतिमूर्तिलाई माइथानबेंसी सारिएको छ ।
भगवतीको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइत र मावली गरी तीन ठाउँमा पूजापाठ गर्ने अनौठो र रोचक परम्परा छ । यही परम्पराअनुसार आज बिहान भगवतीको घरको रुपले परिचित सल्यानकोट डाँडाको मन्दिरबाट माइतीको रुपमा चिनिने माइथानबेँसीको मन्दिरमा सारिएको हो ।
रानामगर, तिमिल्सिना र सापकोटा थरका पुजारीहरुले त्रिपुरा सुन्दरी भगवतीको मूर्तिलाई आफ्नो पिठ्युमा बोकेका मन्दिरमा सारेका थिए । विवाहित नारीले धेरैजसो समय आफ्नो कर्मघरमा बिताउनुपर्ने, दसँैं तिहार लगायत चाड बाडमा मामाघर जानुपर्ने र हिउँदमा फुर्सद मिल्ने भएकाले केही समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाइँलाई तुलना गरिएको स्थानियले बताएका छन् ।
सोही परम्पराअनुसार सल्यानकोटमा रहेको दुई मन्दिर मध्ये घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ । जुन मामाघरको रुपमा प्रसिद्ध छ ।
नेपाल एकीकणका बेला पृथ्वीनारायण शाहले छिमेकी जिल्ला गोरखाबाट नुवाकोट आक्रमण गर्न जाँदा यही मन्दिर छेउमा बास बसेको र राति सपनामा एक बालिकाले आर्शिवाद दिएको प्रसङ्ग दिव्योपदेशमा उल्लेख छ ।
जिल्ला सदरमुकाम धादिङबँेसीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला गोरखा, नुवाकोट, चितवन, काठमाडौँ लगायतका स्थानहरुबाट उल्लेखनिय दर्शक तथा भक्तजनहरुको उपस्थिति रहेको थियो ।
त्यहाँ आउने भक्तजनले आफ्नो मनोकाङ्क्षा पूरा गर्न परबाट नै देवीलाई फूलअछेताले पूजा गर्ने गर्दछन् । मेलाको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको उपस्थितिले मेलालाई थप रौनक बनाएको थियो ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |