सरस्वती लम्साल ।
धादिङ,६ साउन
धादिङबेसीबाट ५ किलोमिटर पूर्व गएपछि पुगिन्छ बसाह गाउँ । गाउँमा लगभग ५० घरधुरी छन् । धेरैजसो घरहरू पक्की छन् । गाउँका अधिकांश युवाहरू पैसा कमाउन विदेश गएका छन् ।युवाहरू भेटिनै मुस्किल छ गाउँमा । बालबच्चा पढाउने र घर व्यवहार चलाउने जिम्मेवारी महिलाहरूले सम्हालिरहेका छन् । विदेशबाट आएको पैसाले नै नुनदेखि सुनसम्मको जोहो गर्नुपर्ने बाध्यतामा छन् उनीहरू ।
तर पछिल्लो समय भने विदेशको कमाइमा मात्र होइन, आफैँ पनि केही गर्नु पर्छ भनेर महिलाहरू जागरूक हुन थालेका छन् । सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत बसाह वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा बसेका १० जना महिलाहरूले गएको असारदेखि सामूहिक रूपमा कृषि खेती थालेका हुन् । पैसाको हरहिसाब राख्ने, विदेशबाट आएको पैसाको सही सदुपयोग गर्ने र आफूहरूले पनि केही गर्न सकिन्छ भन्ने कुरा कक्षामा बसेपछि ज्ञान पाएको उनीहरू बताउँछन् ।
उनीहरूको गाउँमा २०७९ पुस १८ गतेदेखि वित्तीय साक्षरता कक्षा सञ्चालन भएको थियो । हप्ताको १ दिन २१ हप्तासम्म चलेको यो कक्षा गएको जेठमा सकिएको हो । कक्षा समापन भएसँगै कक्षामा सिकेको ज्ञान र सीपलाई प्रयोग गर्दै गएको असार १२ गतेदेखि टनेल बनाएर बेमौसमी तरकारी उत्पादन थालेको उनीहरूले बताएका छन् ।
सामूहिक कृषि खेतीका लागि १० जनाले कृषि ज्ञान केन्द्रबाट १० लाख रुपैयाँ अनुदान पाएका छन् । अनुदानबाट पाएको रकममा उनीहरूले प्रत्येक व्यक्ति एक एक लाख रुपैयाँ लगानी गरी जम्मा २० लाख रुपैयाँको लगानीमा व्यवसाय सुरु गरेका हुन् ।
कक्षामा बसेपछि पैसाको महत्त्व बुझेको, व्यावसायिक योजना बनाउन सिकेको र गर्न सकिने धेरै सम्भावनाहरू देखेकाले व्यावसायिक टनेल खेती सुरु गरिएको समूहकी सदस्य रुपा नेपालले बताउनुभयो ।
‘समूहमा आएपछि पैसाको महत्वबारेमा धेरै जानकारी पाइयो’ समूहकी अर्की सदस्य मानकुमारी नेपाल भन्नुहुन्छ ‘यो कक्षाले पैसालाई हेर्ने हाम्रो नजर नै बदलिदियो, पहिला त आफ्नो क्षमता के छ भन्ने कुराहरू आफूलाई नै थाहा रहेनछ ।’
‘कक्षामा आएपछि हाम्रो तेस्रो नेत्र खोलियो’ सदस्य रुपा भन्नुहुन्छ ‘अब हामी महिलाहरूले पनि व्यवसाय गर्न सक्ने रहेछौँ भन्ने आँट आएको छ, श्रीमानको कमाई सँगसँगै अब हामीहरूले पनि स्वदेशमै स्वरोजगारी बन्नुपर्ने रहेछ ।’
अहिले महिलाहरूले बाँसको टनेल बनाएर त्यस भित्र गोलभेँडा र धनियाँ रोपेका छन् । बेमौसमी तरकारी खेती गर्दा तरकारीको भाउ राम्रो आउने भएकोले टनेल खेती गर्न लागिएको सहभागी सोविता पन्तको भनाइ छ ।
कक्षामा बसेर व्यावसायिक योजनाको विषयमा छलफल गर्दा आफ्नो ठाउँमा पनि टनेल खेतीको सम्भावना देखिएको महिलाहरू बताउँछन् । ‘स्वदेशमै स्वरोजगार बन्न सकियो भने विदेश जानुपर्ने बाध्यता हट्ने रहेछ’ समूहकी सदस्य रुपा भन्नुहुन्छ ‘त्यो बाटो हामीले समातेका छौं ।’
(सरस्वती लम्साल धादिङको नीलकण्ठ नगरपालिकामा सामी कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता सहजकर्ता हुनुहुन्छ । सामी नेपाल सरकार र स्वीस सरकारबीचको दुई पक्षीय कार्यक्रम हो ।)
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |