कृष्णराज अधिकारी
घटना नं.तीन
खरी, मैदी, ढोला र नलाङ मै पहिलो पटक मैदीको शमिभञ्ज्याङमा माध्यमिक कक्षाको सुरुवात भएको थियो । सायद यो २०३७ साल तिरको कुरा हुनुपर्छ । विद्यालय संचालन गर्न र विद्यार्थी संख्या बढाउन भनि विद्यालय प्रशासनले कक्षा ८ को भर्नामा उदारता देखायो । पहिलो पटक खुलेको शमिभञ्ज्याङ माविको कक्षा ८ मा हामी नियमित कक्षा ७ उत्तीर्ण गरेर आठमा भर्ना हुनेहरु तेह्र जना थियौ भने झण्डै अरु पन्ध्र जना जति बिचमै पढ्न छोडेर भर्ना भएकाहरु प्नि थिए । उनीहरुसँग हाम्रो न त उमेर समूह मिल्दथ्यो न बालापन नै । शैक्षिक स्तरमा पनि ति साथीहरु ज्यादै कमजोर थिए । दुई चार जनाको त विवाह भइ बच्चाबच्ची पनि जन्मिसकेका बाबुहरु थिए । एकजना साथीले त दुई वटी श्रीमती विवाह गर्न भ्याइसकेका थिए । धन्न हामी फूच्चाहरु कसरी एउटै कक्षामा साथी बनेर बस्न सक्यौं होला ? अहिले सम्झेर पनि अचम्म लाग्छ ।
माध्यमिक तह चलाए पनि शिक्षकको व्यवस्था राम्रो थिएन । पाँच छ महिना त त्यत्तिकै गज्याङगुजुङ बित्यो । विद्यालयको प्रध्यानाध्यापकमा रामप्रसाद अधिकारी हुनुहुन्थ्यो । संचालन समितिको अध्यक्षमा मुक्तिनाथ अधिकारी । मुक्तिनाथ बा लाई समाजमा केहि गरौं भन्ने भावना थियो । विद्यालयलाई आसपासकै नमूना बनाउनुपर्छ भरे भविष्यमा क्याम्पस पनि चलाउनुपर्छ भन्नु हुन्थ्यो । प्रध्यानाध्यापक रामप्रसाद अधिकारी वहाँकै सुपुत्र हुनुहुन्थयो । ओहो हाम्रो हेडसर जस्तो व्यक्तित्व निर्माण गर्न चिन्तन गर्ने मुक्तिनाथ बा को शैक्षिक प्रेरणामा लागेर जत्तिकै बिए पास गर्ने मान्छे बन्नुपर्छ भन्ने सोचाई ममा त्यसै बेलादेखि जागृत हुन थाल्यो । विद्यालयको नतिजा प्रकाशनमा हामी ५,६ जना साथीहरुको प्रथम द्वितीय हुनुमा बहुत प्रतिस्पर्धा चल्थ्यो । म चाहिँ भने ६ पोजिसनमा थिएँ । पहिलो दोस्रो हुनेले इच्छाधीन विषयमा अतिरिक्त गणित लिनुपर्छ भन्ने सुनेको थिएँ । मैले पनि गणित लिनुपर्छ भन्ने सुनेको थिएँ । मैले पनि गणित विषय रोजें । विषय अनुसारको शिक्षकहरु थिएनन् । भएकाहरुले पनि उल्टापाल्टो पढाउँथे । एकजना विज्ञानका शिक्षकले सूर्य घुुम्छ, पृथ्वी घुम्दैन भने । अर्काले गणित पढाउँदा पढाउँदै उत्तर नमिलाईकन कक्षा नै छोडी भागे । विद्यालयमा यस्तो घटना त कति हो कति ?
जसरी पनि एसएलसी उत्तीर्ण गर्नुपर्छ भन्ने चिन्तन थियो । यस्तो पाराले अब पार लाग्दैन भन्ठानेर म नीलकण्ठ माविमा कक्षा ९ मा पढ्न थाले । मैले स्कूल छाडेको देखेर मेरा दौतरीहरु कोही आदर्श मावि गजुरी त कोही सालबास मावि चैनपुर तिर गई पढ्न थालेछन् । स्कूलका मेधावी विद्यार्थीहरु यत्रतत्र लागेपछि बाँकी दश बाह्र जना उही बुढाखाडा , ज्वारीकोटको खल्तीमा तमाखु हाली हिड्नेहरु मात्र कक्षामा बाँकी भएछन् । बल्लबल्ल ल्याएको मावि जाने भयो भन्ने गाउँले अभिभावकहरुमा पनि चिन्ता जागेछ । तत्कालिन स्थानीय शिक्षाप्रेमी, संचालक समितिको निर्णयले शिक्षक दरबन्दी माग गर्न विद्यार्थी सहित धादिङबेशी जाने निणर्य गरेछन् । लगभग डेढ दुईसयको विद्यार्थी जत्था धादिङबेशी आयो । शमिभज्ञ्याङबाट दरबन्दी माग्न विद्यार्थीहरु आउँदैछन् उनीहरुलाई हामीले पनि साथ दिनुपर्छ भनि नीलकण्ठ र गजुरीका विद्यार्थीहरु पनि धादिङवेशी आईपुगे ।
आक्रोशित भिडले जिल्ला शिक्षा कार्यालय घेर्यो । बेलुका ५ बजेपछि शिक्षा कार्यालय विद्यार्थीहरुको नियन्त्रणमा आयो । त्यसबखत कार्यालय जरेबर हालको सिरानबजारमा थियो । शिक्षा अधिकारी र कर्मचारीहरु कता भागे कुन्नी । हामी रातभर शिक्षा अधिकारीको कोठामै बस्यौं । खाजाको लागि भनेर साथीहरुले घरबाट नै मकै भुटेर ल्याएका रहेछन् । हामी त्यही मकै आधा आधा पाएर बाँढेर खान्थ्यौं । शिक्षा अधिकारीको कुर्चीमा बस्न हाम्रो होडबाजी नै चल्थ्यो । एउटाले ५ मिनेट भन्दा बढी कुर्चीमा बस्न नपाउने नियम बनाउका थियौं । रातभर पालैपालो शिक्षा अधिकारी बनियो । किन हो कुन्नी प्रशासनले पनि हाम्रो कार्यलाई हस्तक्षेप गरेन । भोलीपल्ट बिहान उग्र भीडले कार्यालय तोडफोड गर्यो । त्यसदिन भने प्रहरी प्रशासनले हस्तक्षेप गरी हामी सबैलाई बीच बजारसम्म खेद्यो । दिनभर जसो सदरमुकाममा तनावको अवस्था सिर्जना भयो । सायद जिल्लामै यो नै पहिलो र अहिले सम्मकै विद्यार्थीहरुको संयुक्त आन्दोलन बन्न पुग्यो ।
पछि जिल्ला शिक्षा समितिको बैठकले शमिभञ्ज्याङ माविलाई तत्काल दुई वटा मावि दरबन्दी दिने निर्णय गरेछ । विद्यालय प्रशासनले पनि के कसो गरेर हो शिक्षकहरु जुटायो । हामी पनि फर्किएर पुरानै विद्यालयमा गई पढ्न थाल्यौं । २०३९ सालको पहिलो पटक विद्यालयको एसएलसी परिक्षामा म लगायत अरु दुईजना साथीहरुले उत्तीर्ण गर्न सफल भयौं । त्यसपछीका २,३ वर्षसम्म विद्यालयले नील खाएछ । आफू पढेको विद्यालय सम्झना त हुन्छ नै तर विद्यालयले पनि सम्झिदिए हुन्थ्यो जस्तो चै लागिरहन्छ । क्रमश……………
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |