अधिवक्ता–कृष्णराज अधिकारी
घटना नं.दुई
हामी पढ्ने विद्यालयमा दुई जना शिक्षकहरु हुनुहुन्थ्यो । कक्षा संचालन समय १० देखि ४ बजे भए पनि अड्कल बाजीको भरमा कक्षा संचालन हुन्थ्यो । विद्यालयमा समय हेर्न घडीको व्यवस्था थिएन । हामी बलेनीमा आउने छायाँको भरमा समय निर्धारण गर्दथ्यौं । त्यसैले दश बजे भनेकोमा एघार बजेतिरबाट पनि कक्षा संचालन हुँदा कुनै अनौठो लाग्दैनथ्यो ।
एक दिन घामको छायाँ निकै परसम्म जाँदा पनि सरहरु पढाउन आउनुभएन । हामी विद्यार्थी केटाकेटीहरु छाडा भयौं । त्यस बखत पढ्नभन्दा खेल्न पाए नै औधी रमाइलो लाग्थ्यो । विद्यालय पढ्न भन्दा पनि साथीसँग खेल्न पाइन्छ भनेर नै जाने गरिन्थ्यो । डण्डीबियो, कपर्दी, छुत्ति र गीर जस्ता खेलहरु धेरै प्रचलनमा थिए । छुत्ति खेलेर लुगा च्यातिनु, गिर खेलेर हात खुट्टा सुन्निनु सामान्य कुरा थियो । शरीरमा घाउ चोटपटक लाग्यो भने माटोको धुलोले छोप्ने गथ्यौं । हामीलाई त्यसो गर्दा घाउ संक्रमण हुन्छ भन्ने कुनै ज्ञान थिएन । ठूला बढाहरुले पनि त्यसो नगर भन्दैनथे । गाउँका अलि टाढाबाठा अग्रज व्यक्तित्व टंकनाथ ढुवाडी बेसी गोठमा जान भनि हाम्रै स्कूलको बाटो नाम्लो काँधमा भिरी झर्दै हुनुहुथ्यो , हामी छरपस्ट छरिएर खेलेको उहाँले अलि अगाडी देखीरहनु भएको रहेछ । अनि हामीहरु छेउ आएर सोध्नु भयो “ए भुराहरु हे तिमीहरुको हापछुट्टी भै सकेको हो । ” एक जना साथीले जवाफ फर्काए “हाम्रो त आज दुवै जना सरहरु आउनु भएको छैन, त्यसैले खेली रहेको हो ।”
प्रधानाध्यापक तोयनाथ दुवाडी सात गाउँमा नाम कहलिएका ठूला पण्डित हुनुहुन्थ्यो । प्राय तीथि, श्राद्ध , एकाहा पूराणमा कहिल्यै खाली नहुने । त्यसैले नियमित विद्यालयमा हाजिर हुन पनि गाह्रो । नेपाल सरकारले तलब नै पनि कति दिएको थियो होला र ? अर्का शशि विक्रम साह पनि रमाइला मान्छे । गाउँमा भजन कीर्तन नाचगान, देउसी भैलो र रत्यौली कतै नछोड्ने । यस्तै कारणहरुले गर्दा त्यस दिन दुवैजना सरहरु ढिलासम्म विद्यालयमा उपस्थित हुन नसकेको । यसरी हुँदैन केटाकेटी हो अब तिमीहरुले जुलुस नारा लगाओ भनेर कोइराला बा टंकनाथले सिकाउनुभयो । हामीलाई पनि रमाइलो चाहिएको थियो । सबैको एकमत भयो जुलुस नारा लगाउने ।
जुलुस भनेको के हो हामीलाई थाहा थिएन । अनि नारा के भनेर लगाउने त्यो पनि थाहा थिएन । हामीमध्ये एकजना अग्रज दाजुले लौ केटा हो लालु पातेको ५, ७ वटा हाँगा भाँचेर ल्याओ भनि अह्राउनु भयो । हामीले त्यसै गर्यौं । लहरै पंक्तिमा बसेर गाउँको परिक्रमा गर्ने निर्णय भयो । जुलुसको अग्र पंक्तिमा म लगायत केही साथीहरु थियौ । हाम्रो जिम्मा भनेको लालुपातेको हाँगाको थाँङकुरु थाङकुरु गरेर मुखले नरसिंगा बजाउनु । केही साथीहरुले र्यालीमा नारा लगाउन थाले । नारामा तोयानाथ सर जिन्दावाद, शशि सर मूर्दावाद, हाम्रो पढाई हुनैपर्छ जस्ता भनाइहरु थिए । हामीलाई पनि रमाइलो । म गाला रातो हुनेगरी नरसिंगा फुक्न थालें । केही साथी स्याबास स्याबास भनेर नाच्दै थिए । केही भने जिन्दावाद र मूर्दावादका नाराहरु लगाउँदै थिए । यतिकैमा एकजना साथीले दुवैजना सरहरु गाउँको माथिबाट स्कूलतिर झर्दै गरेको देखेछन् । लौ हाम्रा सरहरु आउनुभएछ ।
अब नारा जुलुस लगाएको थाहा पाउनु भयो भने हामीलाई मार्नुहुन्छ लौ भागौं भने । हामी पनि धमिराको छिचिरा जमिनबाट निस्किएर आकाश तर्फ उँडे जस्तै गरी छिन्नभिन्न भै भाग्यौं । सरहरु स्कूल पुग्नुभन्दा अगाडी नै हामी आफ्नो समूहमा पंत्तिबद्ध भै किताब पढ्दै थियौं । उहाँहरुले हामीलाई केहि भन्नु भएन । सायद त्यस दिन हाफ छुट्टी पनि भएन जस्तो लाग्छ । हाम्रो नारा जुलुश उहाँहरुले थाहा पाउनु भयो कि भएन हामीलाई थाहा हुने कुरा भएन ।
त्यसदिनको घटनाले मलाई अहिले पनि तरंगित बनाइरहन्छ । आखिर दुवैजना सरहरु विद्यालयमा आउनुभएको थिएन । किन एकजनालाई चाहिँ जिन्दावाद र अर्कोलाई मूर्दावाद लगाएको होला ? सायद शशि सरले अलि धेरै शारीरिक यातना दिने गरेकाले हामी साना विद्यार्थीहरुलाई मन नपरेको हुन सक्छ । त्यस दिन हामीले ठूलै विद्रोहको आवाज निकाल्यौं । यस किसिमको व्यवहार मेरो जीवनमा पहिलो अनुभव थियो । त्यसैले बालमस्तिष्कलाई दमन न गरौंं । किनकी पछिसम्म उसमा विद्रोहको ज्वाला निस्किरहन सक्छ । क्रमश…………..
(लेखक अधिवक्ता एंव नेपाल मानव अधिकार संगठन, धादिङ शाखाका सभापति हुनुहुन्छ । )
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |