काठमाण्डौं,५ कात्तिक ।
शनिवार यमपञ्चक शुरु हुँदैछ। कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मको अवधिलाई यमपञ्चक भनिन्छ। पाप धर्मका साक्षी धर्मराज अथवा यमराजसँग सम्बन्धित भएको पाँच दिन हुनाले यमपञ्चक भनिएको कथन छ।
शनिवार २६ घडी ४ पला अर्थात् ४ बजेर ३४ मिनेटसम्म द्वादशी तिथि छ। त्यसपछि त्रयोदशी लागेसँगै यमपञ्चक सुरु भएको हो। पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार त्रयोदशी लाग्ने भएका कारण शनिबार नै यमपञ्चक सुरु भएको हो।
यमपञ्चकको पहिलो दिन यमदीप दान गर्ने परम्परा छ। कात्तिक कृष्ण त्रयोदशीका दिन साँझपख ‘यमदीपदान’ गर्नाले अपमृत्यु नाश हुने पुराणहरूमा उल्लेख छ। धनतेरस पनि शनिबार नै मनाइँदै छ। बहुमूल्य वस्तु जोड्ने दिनको रूपमा यसको महत्त्व छ।
यमपञ्चक शनिवार नै शुरु भए पनि कागतिहार भने आइतबार परेको छ। यो दिन २७ घडी १८ पला अर्थात् ५ बजेर ४ मिनेटसम्म त्रयोदशी छ। कागको पूजा गर्ने र उसलाई खानेकुरा खुवाउने दिनको रूपमा चिनिन्छ। यसैदिन आयुर्वेदका देवता धनवन्तरीको जन्मदिन पर्छ।
सोमबार चतुर्दशी अर्थात् कुकुरको पूजा गर्ने दिन। यो दिन २७ घडी १५ पला अर्थात् ५ बजेर ४ मिनेटसम्म बजेसम्म चतुर्दशी रहेको छ। यसलाई नरक चतुर्दशी वा बोलीचालीमा ‘नरके चतुर्दशी’ भनिन्छ। चतुर्दशीको झिसमिसेमा तारा नअस्ताउँदै शरीरमा तेल घसी अपामार्गको बोटले शिर वरिपरि घुमाई स्नान गर्ने र बत्ती नदीमा बगाउने विधान पनि छ। यसो गर्दा ‘नरक जानु पर्दैन भन्ने विश्वास छ।
यो वर्ष लक्ष्मीपूजा पनि सोमबार नै गरिँदैछ। लक्ष्मीपूजा कार्तिक कृष्ण औँसीको रात्रिमा गर्ने विधान छ। भोलिपल्ट बेलुकी औँसी नरहने भएकाले यसै दिन लक्ष्मीपूजा गर्न लागेको हो।
मंगलबार औँसी अर्थात् गाईतिहारे औँसी। यो दिन औँसी २५ घडी ५७ पला अर्थात् ४ बजेर ३३ मिनेटसम्म रहनेछ। बिहान गाईको पूजा गरिन्छ। साँझमा भने सूर्यग्रहण लाग्नेछ। नेपाली आकाशमा ३२–३३ मिनेट रहने खगोलविदले जनाएका छन्। खण्डग्रास ग्रहण ४:५३ मा सुरु भई ५:२६ मा सकिने छ।
बुधबार कार्तिक शुक्ल प्रतिपदा अर्थात् गोर्वधनपूजा। कृषिमा सहयोगी गोरुको पूजा गर्ने दिन। यो दिन २३:३० घडी अर्थात् ३ बजेर ११ मिनेटसम्म बजेसम्म प्रतिपदा छ। यही दिन नेपाल संवतअनुसारको वर्ष फेरिन्छ। ११४३ सुरु हुनेछ। बेलुकी नेवार समुदायले ह्मपूजा अर्थात् आत्मपूजा गर्ने गर्दछ।
बिहीबार अर्थात् कात्तिक १० गते भ्रातृद्वितीया अर्थात् भाइटीका परेको छ। यो दिन द्वितीया तिथि २० घडी १ पला अर्थात् २ बजेर १२ मिनेटसम्म द्वितीया तिथि छ।समितिले यो वर्षको भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |