काठमाडौं, १ चैत
स्थानीय निर्वाचनको संघारमा पनि कांग्रेस नेताहरू अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रष्टीकरण दिइरहेका छन् । परियोजना १५ माघमा संघीय संसद्ले अनुमोदन भएको हो ।
हाल कार्यान्वयनको चरणमा रहेको परियोजनाबारे निर्वाचन केन्द्रित कार्यक्रममा पनि कांग्रेस नेताहरू अधिक समय लिएर बोल्ने गरेका छन् ।
सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार नुवाकोटको तादी गाउँपालिका पुगेर एमसीसी राष्ट्रहितमा रहेको दावी गरे । जुन कुरा जनताले भोलि देख्ने उनको भनाइ छ ।
सोही दिन महामन्त्री गगनकुमार थापाले पनि एमसीसी पारित गराउन पार्टीले गरेको अगुवाइको प्रतिरक्षा गरे ।
उनले एमाले र माओवादी कार्यकर्ताले एमसीसी कांग्रेसले पास गरेको भनिए पार्टीका अध्यक्षहरूलाई प्रश्न गर्न लगाउनुपर्ने बताए ।
प्रधानमन्त्री देउवा र महामन्त्री थापा मात्र होइन, पार्टीका अन्य पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, सांसद र केन्द्रीय सदस्यहरूले पनि एमसीसीबारे प्रष्टीकरण दिने गरेका छन् ।
सहमहामन्त्री भीष्मराज आङ्देम्बे कम्युनिस्ट पार्टीहरूले एमसीसीबारे जनतालाई पूरै भ्रमित बनाएको बताए । त्यही भ्रमलाई कांग्रेस नेताहरूले निर्वाचनको मुखमा चिर्नुपरेको स्पष्ट पारे ।
‘विभिन्न कालखण्डमा कम्युनिस्टहरूले पनि एमसीसीलाई बोकेर ल्याएका हुन् तर माछा देख्दा दुलोभित्र हात हाल्ने र सर्प देख्दा बाहिर निकाल्ने वा सत्तामा बस्दा एउटा कुरा गर्ने र बाहिर हुँदा अर्को कुरा गर्ने कम्युनिस्टहरूको चरित्र देखियो । यस्तो चरित्र पनि उदाङ्गो पार्ने काम हुँदै छ’, आङ्देम्बे बताउँछन् ।
कांग्रेसले एमसीसीलाई देश विकासको आधार मानेको छ । सरकारको प्राथमिकतामा परेको आयोजना भन्ने गरेको छ । महामन्त्री थापा त अनुदान सहयोग अमेरिकाले मात्रै नभइ अन्य देशले दिए पनि सहर्ष स्वीकारेर लिनुपर्ने पक्षमा छन् ।
र, एमसीसीबारे कांग्रेसले बुकलेट नै तयार गरेको छ । जुन स्थानीय तहसम्मै पठाइसकेको छ । बुकलेटले भ्रम चिर्न सहयोग पुग्ने विश्वास कांग्रेसको छ । भ्रम चिर्न नसके स्थानीय निर्वाचनमा असर पर्न सक्ने बुझाइको आधारमा बुकलेट तयार गरेको कांग्रेसले जनाएको छ ।
तर, १५ माघमा ब्याख्यात्मक घोषणामार्फत एमसीसीको पक्षमा माओवादी केन्द्र र एकीकृत समाजवादी पनि उभिएका थिए ।
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |