काठमाडौं, ७ फागुन ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चरणबद्ध रुपमा फैलिँदै गएको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गरेका कार्यहरु महत्वपूर्ण र प्रशंसनीय रहेको बताएका छन् ।
उनले विभिन्न भेरियन्टका रुपमा देखापरेको कोभिड–१९ ले विज्ञान र प्रविधिलाई समेत चुनौती दिँदै गइरहेको जनाउँदै नेपाल जस्तो मुलुकमा खोपको सहजता र अन्य व्यवस्थापनका कार्यले कोरोना रोकथाम र नियन्त्रणका लागि केही सहज भएको बताए । उनले अझै पनि महामारी पूर्ण रुपमा निर्मूल नभइसकेकाले स्वास्थ्य सतर्कतासहित मापदण्ड पालना गरेर मात्र गतिविधिहरु गर्नुपर्ने बताए । अध्यक्ष तिमिल्सिनाले पछिल्लो राजनीतिक घटनाक्रमले नागरिकलाई निराश बनाएको जनाउँदै देशको समृद्धि, सुशासन र विकासका लागि सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।
महामारी रोकथामका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने भएकाले स्वास्थ्यजस्तो संवेदनशील विषयमा जनप्रतिनिधि चनाखो भएर गृहकार्य गर्ने र रणनीतिक योजनाहरु बनाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले २०७६ पुस २८ मा नेपालमा पहिलो पल्ट कोभिड–१९ सङ्क्रमित देखा परेको र तत्कालीन समयमा कोभिड परीक्षण रोकथामका कार्य गर्न निकै जटिल र चुनौती रहे तापनि मन्त्रालयले समुदायलाई सुसूचित गराएर महामारी नियन्त्रणका लागि काम गरेको बताए । उनले पिसिआर ल्याब नहुँदा तत्कालीन समयमा हङकङमा परीक्षणका लागि पठाउनु परेको स्मरण गर्दै अहिले नेपालमा १०२ पिसिआर ल्याबहरु रहेको जानकारी दिए ।
डा मिश्राका अनुसार सरकारले २०७७ साल माघ १४ मा खोप कार्यक्रम सञ्चालन गरेकामा हालसम्म तीन करोड ६० लाख ९९ हजार १६९ ले पहिलो र दोस्रो डोज खोप लगाएका छन् । त्यस्तै आठ लाख ४२ हजार ५९० जना बुस्टर डोज खोप लगाएका छन् । उनले कूल जनसङ्ख्या ७३ प्रतिशतले पहिलो र ५८ प्रतिशतले दोस्रो डोज लगाएको जानकारी दिए ।
त्यसैगरी हालसम्म ६४ लाख एक हजार १६ जनामा पिसिआर परीक्षण गरिएको छ भने ११ लाख १३ हजार ५४४ सङ्क्रमित सङ्ख्या रहेको थियो । कोभिड–१९ का कारण ११ हजार ९१३ जनाले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ४३५ रहेको छ । उनले हाल कोभिड सङ्क्रमण सङ्ख्या ओरालो लाग्दै गएको जनाउँदै समुदायस्तरबाटै जनचेतना जगाउन सके आगामी दिनमा महामारीबाट जोगिन सकिने बताए ।-रासस
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |