काठमाडौँ, फागुन १ गते ।
वाग्मती सफाइ महाअभियानको शनिबार ४५७औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
सफाइका अवसरमा वाग्मती नदी किनारमा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलाई सम्मान एवं स्वागत गरिएको थियो । सो अवसरमा उहाँ पनि सफाइमा सहभागी हुनुभएको थियो ।
सफाइमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेलगायत अभियानकर्मीको सक्रियता रहेको किशोरसिंह शाहीले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, वाग्मती फोहर उन्मूलन उपभोक्ता समाज, स्थानीयवासी, अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारीको पनि सफाइमा संस्थागत सक्रियता थियो । सफाइका क्रममा अभियानकर्मीलाई गुर्जोको चिया सेवन गराइएको थियो । यसका लागि गुर्जो अभियानकर्मी राजेशमोहन प्रधान तथा अञ्जु राजलवटले सहयोग गर्नुभएको हो ।
यसैगरी मनोहरा सफाइ अभियानको २५६औँ हप्तामा बालकुमारी पुलमुनिको नदी किनार क्षेत्रमा सफाइ गरिएको छ । सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले राससलाई जानकारी दिनुभयो । सफाइका क्रममा गुर्जो अभियानकर्मी प्रधान तथा राजलवटले चियाको व्यवस्था गर्नुभएको थियो ।
विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ अभियान जारी छ । हप्तामा एक दिन शनिबार बिहान दुई घण्टा देशका लागि स्वयंसेवा भन्ने नाराका साथ अभियानकर्मी वाग्मती किनारमा सक्रिय हुने गरेका छन् । वाग्मतीबाट प्रभावित भई उपत्यकामा यसका सहायक नदी पनि सफाइ भइरहेको छ ।
यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल उपत्यका बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ । उपत्यकामा भने २५ स्थानमा सफाइ भइरहेको छ ।–रासस
धादिङ संचार प्रा.ली. द्धारा संचालित
धादिङ संचार डट कम (dhadingsanchar.com)
नीलकण्ठ नगरपालिका–३ धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ०१०-५२१४३०, ९८५११२०८५०
प्रेस काउन्सिल दर्ता न: २६०३
सूचना विभाग दर्ता नम्बर: ६१ /०७३/०७४
सम्पादक: | बद्री अधिकारी |
कार्यक्रारी सम्पादक: | |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |