प्रमुख समाचार
  • उत्थान नेपालबाट मनोपरामर्शको तालिम लिएका प्रशिक्षार्थीहरुको सुपरिभिजन सम्पन्न
  • असुरक्षित बैदेशिक रोजगार कहिले सम्म ? (हरेक युवाले पढ्नै पर्ने लेख)
  • धुनिबेसीमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज
  • धादिङको रुबीभ्यालीमा विदेशी पर्यटकको मृत्यु
  • रेडियो कार्यक्रम सोह्र–सत्रको समिक्षा
  • चोरी भएको मोटरसाईकल ९ महिना पछि फेला
  • सेमजोङमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न
  • धादिङबेसीमा खानेपानी परिक्षण गर्ने मिनिल्यावको उद्घाटन
  • धादिङ बुढाथुमका लोक प्रसाद दाहाल एनआरएनए सह–कोषाध्यक्षमा निर्वाचित
  • नेपाली काँग्रेस नेत्रावतीद्धारा शोक सभा सम्पन्न
  • अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस,धादिङमा पनि सप्ताहव्यापी कार्यक्रम गरी मनाईयो
  • निलकण्ठको पिपलडाँडामा सहिद स्मृति भवन उद्घाटन
  • नगरपालिकाले विकास निमार्णको लागि नयाँ मोडल बनाएको छ: मेयर ढुङ्गाना
  • धादिङमा आत्महत्याको डर लाग्दो रुप ,एक जनाले गरे घाँटी रेटेर आत्महत्या
  • दलहरु सङ्क्रमणमा हुनु भनेको देश सङ्क्रमणमा हुनु हो !

    धादिङ, १८ असोज ।
    बद्रीप्रसाद दाहाल
    लोकतान्त्रिक व्यवस्थाका मेरुदण्ड राजनीतिक दल हुन् भने तिनका आदर्श, सिध्दान्त,जनमुखी विचार, आचार र आर्थिक कार्यक्रम पञ्च प्राण अर्थात् प्राण,अपान, व्यान, समान, र उदान हुन् । मेरुदण्डले ठडिएको यो राजनीतिक प्रणालीको काया प्राणबाट अनुबन्धित नहुने बित्तिकै त्यो मुर्दा बन्न पुग्छ । त्यसैले त लोकतान्त्रिक प्रणालीरुपी शरीरलाई चलायमान, गतिशील एवं सार्थक बनाउन आचार विचार,प्रयोग, अभ्यास र कार्य सम्पादनले महत्वको केन्द्र निर्धारण गरेको हो । राजनीति भनेको राजनीतिक मूल्यहरुको अधिकतम विनियोजनको लागि कार्यरुप हो भनेर आधुनिक राजनीति चिन्तक डेविट इस्टनले मानेका छन् भने अर्का विख्यात विचारक हेनरी एडमले आधुनिक राजनीति मानिसहरुको होइन, यो त शक्तिहरुको संघर्ष हो भनी व्यञ्जनात्मक तरिकाले विश्लेषण गरेका छन् । जे होस् राजनीतिका बहुरुपी प्रणालीहरु हुन्छन् ती मध्ये जननिर्वाचित लोकतन्त्र कम खराब व्यवस्था हो भन्ने कुरा विश्व राजनीतिक रङ्गशालाका चिन्तक र अभिकर्ताहरुले आजसम्मको अनुभव तथा प्रयोगबाट ठम्याइएको तितो सत्य हो ।

    सामान्यतया ‘सङ्क्रमण’ भन्नाले कुनै कुराको एक ठाउँबाट अर्को ठाउँमा वा एक वस्तुबाट अर्को वस्तुमा हुने गमन भन्ने बुझिन्छ । राजनीतिमा एक किसिमको परिपाटीबाट अर्को किसिमको परिपाटीमा जान लागेको अन्तरिम वा तदर्थ काललाई नै सङ्क्रमण काल भनेर मानिन्छ । यसको कालावधि बढ्नु वा लम्बिनु भनेको देशमा राजनीतिक स्थायित्वले घरजम गर्न नसकेको अवस्था हो । नेपालमा आधुनिक जनमुखी राजनीतिक अवधारणाको थालनी ०७ को जनक्रान्तिबाट भयो । सात दशक पार गरिसकेको नेपालको लोकतान्त्रिक चेतनामा समय—समयमा काला बादलहरु मडारिएर प्रतिगमनका बाछिटाले हैरान पार्ने कु–काम भयो पनि । ०१७ सालमा राजा महेन्द्रबाट अनि जनमत संग्रहको बेला राजासहितको पञ्च सत्ताबाट र पचासको उत्तरार्धमा राजा ज्ञानेन्द्रमार्फत नेपाली जनताको अग्रगमनको आकाङ्क्षामा गरालो तेस्र्याउने यत्नहरु नभएका हैनन् । यतिखेर नेपाल सातौँ संविधानको यात्रामा छ । विश्वका लामा संविधान मध्येमा नेपालको संविधान पनि लाममा छ । संविधान सभाको अत्यधिक मतबाट निर्मित संविधान मार्फत आम चुनाब निष्पन्न भई दोतिहाइभन्दा बढीको स्थायी सरकार बने पनि सरकार जनमुखी एवं लोककल्याणकारी राज्यको अनुभूति दिन पछि परेको देखिन्छ । मूलतःनेपालका मूलधारका राजनीतिक दलहरुले आफ्ना दलहरुलाई विधिविधानपूर्वक हिँडाएर दलीय संगठनलाई स्थायित्व दिन नसकेको विषम परिस्थितिले समस्याहरु निम्त्याइरहेका छन् ।

    वर्तमान सत्ताधारी दल पुरानो एमाले र माओवादी केन्द्रको एकता क्रमअझै पनि पूर्णतामा अनुवाद भैनसकेकोले पार्टी अधिवेशनको ढोका खुल्न सकेको छैन । दुबै पुराना पार्टीमा भएका गुटउप— गुटहरुको व्यवस्थापन हुन नसकेकोले दलीय संगठनको स्पीरिटमा सङ्क्रमण पैदा गरिरहेको छ ।श्रध्देय पुष्पलालका विचार र भण्डारीकोबहुदलीय जनवादको ठाउँमा जनताको जनवादले खुट्टा घुमाएपछि भित्रभित्रै असन्तोष भुसको आगोझैँ बढ्दैछ । यतिखेर चिनिया कमिनिष्ट दलको सी विचार धाराबाट नेपालको कमिनिष्ट पार्टीलाई दीक्षित बनाउने अभियानले यो दल झन् संशयको घेरामा रुमलिन पुगेको प्रतीत हुन्छ । कतिपय पर्यवेक्षक हालको सी विचारधाराको कथित प्रशिक्षण नेपालको भूराजनीतिक संवेदनशीलतालाई र पञ्चशील तथा असंलग्न नेपालको विदेशनीतिलाई असर पार्न सक्ने अड्कल काटिरहेका छन् ।नेकपाभित्र नेताहरु धेरै हुनु र भागवण्डावादी चिन्तनको जराहरु पाउलिने क्रमले दल संक्रमणको पीडामा बलै घिस्रिरहेको आभाष हुन्छ ।  ऊग्र वाम चिन्तनलाई बदलिँदो विश्व सन्दर्भमा सही बाटोमा ल्याउन प्रवासमा रहेका पुष्पलालले हिजो जो वैचारिक चिन्तन दिए त्यतिखेर उनलाई संसोधनवादी, आत्मसमर्पणवादी र गद्दारसम्म भन्न तंसिएको प्रवृत्ति लोकतान्त्रिक निर्वाचनमार्फत जब सत्ताधीस्थ हुन पुगे तव विगतको पुष्पलालप्रतिको धारणा गलत महसूस गरी आत्मालोचना गर्न तंसिएर पुष्पलाल, मदन भण्डारीजस्ता देशज नेताहरु इष्टदेव ठम्याउन पुगे । तर जब हाल दुई दल मिलेर नेकपा बनाउने कसरत भयो त्यसपछि विचारको खडेरी बाक्लिन थाल्यो जसको परिणाम ‘सी विचारधारा’ दीक्षा लिन पर्ने परिवेश सिर्जना हुन पुग्यो । नेपाली मोडलको समाजवादोन्मुख लोकतान्त्रिक संघीय गणतन्त्रको प्रत्याभूत गरेर बनाइएको हालको नेपालको संंविधानको मूल स्पीरीटमा प्रतिकूल हुने गरी यतिखेर डर कर र अन्योलमा दीक्षा लिन लाम लागेका नेकपाका नेताहरु वैचारिक अन्योलताको भाषमा जाक्किन पुगेको परिदृष्यले दल संक्रमणबाट गुज्रिएको पुष्टि हुन्छ ।

    माधव नेपाल, घनश्याम भुषाल, भीम रावलजस्ता नेताहरुको बेला बेलाका अन्तरवार्ता, बहस र मन्तव्यले स्वयं अर्का अध्यक्ष दाहालका सरकारप्रतिको दोहोरो मूल्याङ्कनले दल अहिलेसम्म पनि उचित बाटो पहिल्याउन नसकेर अलमलमै पार्टीयात्रा जारी राखेको प्रमाणित हुन्छ । यसरी चिनिया विदेश विभागका पार्टी प्रमुख ताओको प्रशिक्षणपछि नेकपा दुई धारमा देखिने अड्कल पर्यवेक्षकहरुले गरिरहेका छन् भने सचेत नेपाली जनता बहुलवाद र बहुदलीय मान्यताको नेपालको राजनीतिक यात्राले कोल्टे फेरेर एक दलीय सर्वसत्तावादतिर त देश जाँदै छैन भन्ने शङ्काले घर गर्न थालेको देखिन्छ । यता ओली सरकारको केन्द्रीकृत सरकारी रबैया र उता सी विचारको प्रशिक्षणले भावी नेपाली वाम राजनीति अनिश्चयको दिशातिर हुँइकिएर नेपालको तटस्थ, असंलग्न पञ्चशीलको विशेषता बोकेको विदेश नीतिमै त फेरबदल हुँदैन ? प्रश्नहरु तेर्सिएका छन् यो कूटनीतिक अपरिपक्कताको नाट्य मञ्चन देखेर । दुइ अध्यक्षको लहडमा नेकपाका गतिविधि कतै निरंकूश बाटो त तय गर्दै छैन ? सत्ताधारी दल वैचारिक र कार्यदिशामा अलमलिएर बरालिने प्रवृत्तिले संक्रमणकै पीडामा रुमलिएको ठम्मिन्छ ।

    उता प्रमुख प्रतिपक्षी दल काङ्गेसको दलीय संगठनको हालत दयनीय नै देखिन्छ । सडक एवं सदन दुबैतिर निष्प्रभावी बनिरहेको काङ्गेसको एकता छेपाराको उखानमै रिँगटामा छ । पार्टीमा विभागहरु अझैसंम गठन हुन नसक्नु, विभिन्न भ्रातृ र भगिनी संगठनहरु नवीकृत नबन्नु जागरण अभियान मात्र कर्मकाण्डीय बन्नु, यस्तो कमजोर संगठनको थितिमा पनि गुटबन्दीमा बरालिएर आफैभित्र हानाहान , ताकाताक र खुराफातले अड्डा जमाउनु दल संक्मणको जटिलताले बाँधिनु हैन र ? विपी विचारबिन्दुको आर्थिक कार्यक्रमलाई कमिनिष्टहरुले आवरणमा बोक्नु र हिजोका मण्डलेहरुले बीपीको सैध्दान्तिक राजनीतिको खोल हालेर दौडिनु तर काङ्गेस भने आन्तरिक बाझाबाझ प्रतियोगतिाकै दलदलमा फस्नु के पार्टीमा आएको संक्रमणको घनचक्कर होइन ?उता नयाँ समाजवादी दल भनेर चिनिएको सत्ताधारी पाटी एउटा खुट्टा सत्ताको डुङ्गामा र अर्को खुट्टा सडकको पिचमा राखेर हिँड्ने हिजडा अभ्यास देख्दा दलमा घोर डेङ्गोको संक्रमण फैलन आँटेको हैन र ? अर्को मधेसी दल राजपा दुई दुई महिनामा नेतृत्व फेरेर संक्रमणग्रस्त बन्दै पार्टीलाई जीर्ण पाटीपौवामा धराशयी बनाउँदैछ । यसरी हेर्दा नेपालका हालका मूल धारका राजनीतिक दलहरु विचार, आचार, नैतिकता, सैध्दान्तिक अडान, मूल्य मान्यता, राष्ट्रियता, नेपाली जनतालाई सुखी खुसी दिने दर्शनबाट पूरै चिप्लिएर संक्रमणको तारे भीरको यात्रा समाउँदै त छैनन् प्रश्नहरु घोचा बनेर उभिएका छन् ।  सात दशक लामो जनताको वलिदान र संघर्षलाई दाउमा राखेर दलहरुलाई संक्रामक कीटाणुको खाजा बनाउन दिनु नेपालका दलाधिपतिहरुको अदूरदर्शी सोच र स्वार्थलम्पट चरित्र नै हो । होसियार यो हेपाहा र खेलाँची प्रवृत्ति अबको नेपाली नागरिक चेतना सहन गर्न सक्दैन । किनकि राजनीतिक दलहरुमा देखिएको संक्रमण र तदर्थवादी घटियावृत्तिले देशलाई सधैँ संक्रमणको जाँतोमा घुमाइ रहन्छ । देशरुपी शरीरमा राष्टियताको प्राण सञ्चार गराएर लोकतान्त्रिक मूल्यमान्यतामा दलहरुले आफ्नो यात्रा जिम्मेदार बनाऊन् । समाप्तम्